काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मन्त्रिपरिषद्को फागुन २६ गते राति बसेको बैठकले उक्त निर्णय गरेको हो।
सिफारिस समितिको संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन्, भने सदस्यमा नेपाली कांग्रेसले डा. विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराईलाई चयन गरेको छ।
हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २०८१ चैत १२ गते सकिँदैछ। १७औं गभर्नरको रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक समापन गर्दै, अधिकारी राष्ट्र बैंकबाट बिदा हुँदै छन्।

गभर्नर पदका आकांक्षी को को?
नयाँ गभर्नर बन्नका लागि करिब दर्जन व्यक्तिहरू चर्चामा छन् । हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बम बहादुर मिश्र प्रमुख प्रतिस्पर्धी मानिएका छन् ।
त्यसैगरी, राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणी शिवाकोटी र डा. रविन्द्र प्रसाद पाण्डे, कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र डा. गुणाकर भट्ट पनि गभर्नरको दौडमा छन्।
यस बाहेक, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाल, जो केही महिनाअघि मात्र अवकाश लिएका थिए, सम्भावित गभर्नरका रूपमा हेरिएका छन्।
CEO दावेदारहरू
निजी बैंकिङ क्षेत्रमा रहेका केही सीईओहरू पनि गभर्नर पदका लागि तयारी गरिरहेका छन्। नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, प्रभु बैंकका सीईओ अशोक शेरचन र माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको नाम पनि गभर्नर पदका लागि चर्चामा छ ।
नेपाल राष्ट्र बैंकको १८औं गभर्नर को हुने भन्ने विषयमा अन्तिम निर्णय सरकारको हातमा भए पनि प्रतिस्पर्धा चर्किँदै गएको छ।
