धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश : छठलाई नेताहरूले कसरी उपयोग गरे ?

Sticky News विचार /दृष्टिकोण

काठमाडौं । सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता जनाएका थिए ।

लामिछानेको मधेस यात्रालाई धार्मिक आस्थासँगै पार्टीको राजनीतिक आवश्यकतासँग जोडेर पनि हेर्न सकिन्छ । मधेसमा रास्वपाको संगठन विस्तार र आन्तरिक व्यवस्थापन अझै चुनौतीपूर्ण अवस्थामा रहेको पृष्ठभूमिमा उनको छठ सहभागिता अर्थपूर्ण देखिएको हो ।

रास्वपाले असार ७ देखि १२ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशनबाट लामिछाने सभापतिमा निर्विरोध चयन भएका छन् । तर, केन्द्रीय नेतृत्व चयन भइसक्दा पनि मधेस प्रदेशमा पार्टीको संगठनात्मक संरचना व्यवस्थित हुन नसकेको मधेशका रास्वपा कार्यकर्ताले गुनासो गर्दै आएका छन् । मधेसका आठ जिल्लामध्ये पर्सामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वडा तथा पालिका तहदेखि नै विवाद देखिएको छ ।

रास्वपाले जेठ २८ गते मधेस प्रदेश अधिवेशन गर्ने तयारी गरेको भए पनि जेठ २६ गते केन्द्रीय निर्वाचन आयोगले अधिवेशनसँग सम्बन्धित गतिविधि स्थगित गरेको थियो । अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न आवश्यक देखिएको भन्दै आयोगले यस्तो निर्णय गरेको थियो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एउटै पालिकामा दुईपटक अधिवेशन गरेर दुईवटा समिति गठन भएको दाबी भएपछि विवाद केन्द्रसम्म पुगेको थियो । वडा र पालिका तहकै विवाद समाधान हुन नसक्दा प्रदेश अधिवेशनसमेत अनिश्चित बनेको छ । यस्तो अवस्थामा लामिछानेको जनकपुरदेखि मटिहानीसम्मको उपस्थितिलाई मधेसमा पार्टीको राजनीतिक पहुँच विस्तार गर्ने र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने प्रयासका रूपमा पनि विश्लेषण गर्न सकिन्छ ।

मधेसमा धार्मिक तथा सांस्कृतिक कार्यक्रममा शीर्ष नेतृत्वको सहभागिताले स्थानीय कार्यकर्ता र समर्थकसँग प्रत्यक्ष सम्पर्क बढाउन सक्छ । तर, घाटमा देखिएको उपस्थितिले मात्र संगठनात्मक विवाद समाधान हुने छैन । पार्टीले स्थानीय तहमा देखिएका असमझदारी मिलाएर संगठनलाई व्यवस्थित बनाउन सके मात्र यस्तो राजनीतिक सम्पर्क दीर्घकालीन लाभमा परिणत हुन सक्छ ।

यसैबिच, रास्वपा सांसद डा. अमरेश कुमार सिंहले जानकी मन्दिरमा दर्शन गरेर आजैदेखि सुरु गरेको मेची महाकाली पदयात्रामा पनि सभापति लामिछाने उपस्थीत भए । लामिछानेले सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना पनि दिए । सभापति लामिछानेले सांसद सिंहलाई पदयात्रा दल र राजनीति भन्दा माथि उठेर देशमा शान्ति तथा सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने गरी यात्रा सम्पन्न गर्न शुभकामना दिएका छन् ।

सिंहको यो यात्राको सुभारम्भ अचानक पक्कै होइन होला । पार्टी सभापतिले नै शुभकामना दिइसकेपछि यो पदयात्रा कार्यक्रम आयोजना गर्नेबारेको स्वीकृती पनि पार्टीले नै दिएको मान्नुपर्ने हुन्छ । यस अर्थमा पनि यो पदयात्राको राजनितीक महत्व छ जसको प्रारम्भ जनकपुरको छठ घाटबाट भएको छ ।

यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि छठ मनाउन मधेस पुगे । सिमरा हुँदै सर्लाही–४ पुगेका थापाले आइतबार आफ्नो निर्वाचन क्षेत्रको साँझिया घाटमा उपस्थित भएर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरे । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन उनी वीरगन्ज पुगेका थिए ।

सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले छठ पर्वले सबैलाई सकारात्मक बन्न प्रेरित गरोस् भन्ने अपेक्षा व्यक्त गरेका थिए । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले छठलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणासँग जोडेका थिए ।

गत प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापाको छठका अवसरमा आफ्नो निर्वाचन क्षेत्रमा पुग्नु राजनीतिक रूपमा पनि अर्थपूर्ण छ । पार्टीको केन्द्रीय नेतृत्वमा पुगेपछि पनि निर्वाचन क्षेत्रसँगको सम्बन्ध कायम राख्नु उनको राजनीतिक प्राथमिकताका रूपमा देखिन्छ । सर्लाहीमा छठ मनाउनु र त्यसपछि वीरगन्ज पुग्नुले मधेसका विभिन्न क्षेत्रसँग सम्पर्क विस्तार गर्ने उनको प्रयासलाई पनि संकेत गर्छ ।

कांग्रेसका लागि मधेस परम्परागत राजनीतिक आधार भएको क्षेत्र हो । तर, बदलिँदो राजनीतिक प्रतिस्पर्धा र नयाँ दलहरूको उपस्थितिले पुराना दललाई आफ्नो जनाधार जोगाइराख्न चुनौती थपेको छ । यस्तो अवस्थामा थापाको छठ सहभागिता धार्मिक आस्थाको सम्मानसँगै मधेसका मतदाता र कार्यकर्तासँगको सम्बन्ध नवीकरण गर्ने अवसर पनि बनेको देखिन्छ ।

थापा नेपाली कांग्रेसका सभापति त हुन तर पार्टी अझैं एक ढिक्का हुन सकेको छैन् । शेर बहादुर देउवाको नेतृत्वमा कांग्रेसको अर्को पक्ष अस्तीत्वमा छ । थापाका लागि अन्य पक्षको चुनौती जति शसक्त छ आन्तरिक चुनौती पनि त्यो भन्दा कम छैन यस्तोमा थापाको छठ यात्रालाइ थापाले आफ्नो पक्षको संगठन सुदृढीकरणका लागि पनि प्रयोग गर्ने सोचाइ राखेको हुन सक्छ ।

कांग्रेसका महासचिव प्रदीप पौडेल र महामन्त्री डिला संग्रौला पनि मोरंगको बुढीगंगामा छठी माताका सामु हात जोडदै देखा परिन । रास्वपाका सचेतक प्रकाशचन्द्र परियार नवलपरासी स्थीत छठ घाटमा देखिए भने राप्रपा नेतृ खुश्बु ओली पनि छठको पूजा गर्दै मधेशमा देखिइन ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सिरहाको लहानस्थित खुट्टीखोला घाटमा छठ मनाए । पत्नीका साथ छठको अन्तिम दिन बिहान घाट पुगेका उनले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरे ।

घिसिङले सामाजिक सञ्जालमार्फत छठको शुभकामना दिँदै प्रकृतिप्रतिको सम्मान, श्रमको महत्व र सामाजिक सद्भावलाई यस पर्वका महत्वपूर्ण सन्देशका रूपमा व्याख्या गरेका छन् । ‘मधेसको माटो, संस्कृति र मेहनत हाम्रो साझा सम्पत्ति हो । मधेसको विकासमै नेपालको समृद्धि जोडिएको छ,’ उनले लेखेका छन् ।

घिसिङको सन्देशमा धार्मिक आस्थासँगै विकास र समृद्धिको राजनीतिक भाष्य पनि जोडिएको छ । नयाँ राजनीतिक दलका रूपमा आफ्नो पहिचान स्थापित गर्न खोजिरहेको उज्यालो नेपाल पार्टीका लागि मधेससँगको सम्बन्ध विस्तार महत्वपूर्ण हुन सक्छ । छठजस्तो जनसहभागिता उच्च हुने पर्वमा सहभागी हुनु र मधेसको विकासलाई राष्ट्रिय समृद्धिसँग जोड्नुले उनको राजनीतिक प्राथमिकता प्रस्ट्याउने प्रयास गरेको देखिन्छ ।

यद्यपि, विकास र समृद्धिको सन्देशलाई राजनीतिक विश्वासमा बदल्न त्यसअनुसारका नीति, योजना र स्थानीय तहमा निरन्तर उपस्थितिको आवश्यकता हुन्छ । एउटा पर्वमा गरिएको सहभागिताभन्दा त्यस क्षेत्रका जनताको दैनिक समस्या र विकासका अपेक्षाप्रति देखाइने प्रतिबद्धताले राजनीतिक सम्बन्धलाई बलियो बनाउनेछ ।

घिसिङको यो छठ यात्रापनि उनको दलको संगठन निर्माणसँग सम्बन्धीत नहोला भन्न सकिन्न ।

प्रतिनिधिसभाका सभामुख डीपी अर्याल पनि छठका अवसरमा मधेस प्रदेश पुगे । छठका दिन बाराको सिमरा पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व नेपालको उदाहरणीय विशेषता भएको बताए । उनी वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा पनि सहभागी भएका थिए ।

घाटमा उपस्थिति पर्याप्त होइन राजनीतिक प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ

यस वर्ष छठका अवसरमा शीर्ष नेताहरूको सक्रियताले एउटा महत्वपूर्ण राजनीतिक प्रवृत्ति देखाएको छ । धार्मिक तथा सांस्कृतिक पर्वहरू अब राजनीतिक नेतृत्वका लागि जनतासँग प्रत्यक्ष संवाद गर्ने र आफ्नो उपस्थिति देखाउने अवसर पनि बन्दै गएका छन् ।

विशेषगरी मधेसमा जनाधार विस्तार गर्न चाहने दलहरूका लागि छठजस्तो पर्वको महत्व अझ बढी हुन्छ । किनभने यस पर्वमा समुदायको सहभागिता, सांस्कृतिक अपनत्व र सामाजिक सम्बन्ध एकै ठाउँमा अभिव्यक्त हुन्छन् ।

तर, राजनीतिक नेतृत्वका लागि छठ घाटमा पुग्नु र त्यहाँका जनताको विश्वास जित्नु फरक विषय हुन् । मधेसका जनताले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, उद्योग र सुशासनसँग जोडिएका अनेक अपेक्षा राखेका छन् । यी विषयमा ठोस योजना र कार्यान्वयनको प्रतिबद्धता नदेखाई पर्वका अवसरमा गरिने सहभागिताले मात्र राजनीतिक विश्वास निर्माण गर्न सक्दैन ।

रास्वपाका लागि संगठनात्मक विवाद समाधान र स्थानीय तहसम्म पार्टी संरचना विस्तार गर्नु चुनौती छ । कांग्रेसका लागि परम्परागत जनाधार जोगाउँदै बदलिँदो राजनीतिक अपेक्षालाई सम्बोधन गर्नु आवश्यक छ । उज्यालो नेपाल पार्टीका लागि विकास र समृद्धिको नारालाई व्यवहारिक राजनीतिक कार्यक्रमसँग जोड्नु चुनौतीपूर्ण छ । संवैधानिक पदमा रहेका राष्ट्रपति र सभामुखको सहभागिताले भने छठलाई राष्ट्रिय सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्ने सन्देश दिएको छ ।

यसरी हेर्दा यस वर्षको छठ धार्मिक अनुष्ठान र सांस्कृतिक उत्सवमा मात्र सीमित रहेन । शीर्ष नेताहरूका लागि यो मधेससँगको सम्बन्ध नवीकरण गर्ने, राजनीतिक उपस्थिति विस्तार गर्ने र आफ्नो सन्देश जनतासम्म पु¥याउने अवसर पनि बन्यो । तर, छठ घाटमा देखिएको राजनीतिक उपस्थितिको वास्तविक अर्थ आगामी दिनमा उनीहरूले मधेसका जनताका मुद्दालाई कति प्राथमिकता दिन्छन् र प्रतिबद्धता कार्यान्वयनमा कति सक्रिय हुन्छन् भन्ने कुराले निर्धारण गर्नेछ ।

नेपाल न्यूज बैंक