Nepal Airlines

वाइडबडी खरिदमा पूर्वसचिव अधिकारी, कंसाकारसहित चार जना दोषी ठहर

पर्यटन

नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोडभन्दा बढी भ्रष्टाचार ठहर भएको छ।

विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाउँदा नेपाल सरकारका दुई पूर्वसचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन् । दुई वटा वाइडबडी खरिदमा एक अर्बभन्दा बढी अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई थपसहित दुई वर्ष नौ महिना कैद सजाय सुनाएको छ । बिगो एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना कंसाकारलाई हुने अदालतको फैसला छ । दामासाही बिगो जफतको आदेश पनि कसुर ठहर भएका सबै प्रतिवादीको हकमा अदालतले फैसलामा उल्लेख गरेको छ । कंसाकारले ज्येष्ठ नागरिक ऐन अनुसार ५० प्रतिशत सजाय छुट पाउने फैसला पनि विशेषले गरेको छ ।

यस्तै निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई थपसहित एक वर्ष नौ महिना कैद सजायको फैसला विशेषले गरेको छ । दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना अधिकारीलाई पनि हुने छ । सोही बराबरको बिगो जफतसमेत हुने फैसला विशेषले गरेको छ ।