काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउने प्रतिबद्धता आइरहेका बेला त्यसबाट प्राप्त लाभांश विदेश पठाउने क्रम पनि बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा विदेशी लगानीका कम्पनीले ३ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ लाभांश विदेश पठाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ थियो।
उद्योग विभागको विवरणअनुसार कात्तिक महिनामा मात्रै लाभांशबापत ३ अर्ब ६५ करोड ३ लाख रुपैयाँ विदेशिएको छ। यसले चालु आर्थिक वर्षको चार महिनामा भएको कुल लाभांश भुक्तानीको ठूलो हिस्सा कात्तिकमै भएको देखाउँछ।
लाभांशसँगै रोयल्टी र सेवा शुल्कका नाममा पनि विदेशी मुद्रा बाहिरिएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म रोयल्टीबापत ९१ करोड ६६ लाख रुपैयाँ, १३ लाख ४५ हजार अमेरिकी डलर र ५ करोड ११ लाख भारतीय रुपैयाँ विदेश पठाइएको छ। अघिल्लो वर्षको सोही अवधिमा रोयल्टीबापत १ अर्ब ८ करोड ३६ लाख रुपैयाँ, २ लाख १४ हजार अमेरिकी डलर र १९ लाख १७ हजार भारतीय रुपैयाँ बाहिरिएको थियो।
त्यस्तै, सेवा शुल्कबापत चालु आर्थिक वर्षको चार महिनामा २ करोड ३१ लाख रुपैयाँ, २१ हजार ८३८ अमेरिकी डलर, ३ करोड ८२ लाख भारतीय रुपैयाँ र ५७ लाख ३९ हजार अस्ट्रेलियन डलर विदेशिएको छ।
विदेशी लगानीका कम्पनीले गरेको नाफा, प्रविधि प्रयोग तथा सेवा उपलब्ध गराएबापत लाभांश, रोयल्टी र सेवा शुल्क विदेश लैजान पाउँछन्। तर लगानी स्वीकृतिको रकमलाई वास्तविक लगानी मान्न नमिल्ने भएकाले नेपालमा भित्रिएको वास्तविक पुँजी, त्यसबाट भएको उत्पादन, रोजगारी सिर्जना र निर्यातमा परेको योगदानसँगै रकम फिर्ता लैजाने प्रवृत्तिको पनि मूल्यांकन आवश्यक हुन्छ।



