काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस २०२४ उत्सव

विविध

काठमाडौं स्थित भारतीय राजदूतावासमा मिति २०८१ श्रावण ३१ गते भारतको ७८ औं स्वतन्त्रता दिवस मनाइयो।

नेपालका लागि भारतीय राजदूत महामहिमले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भयो । तत्पश्चात कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरियो । राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको थियो र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो ।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.५० करोड र कम्बल वितरण गरी सम्मान गर्नुभयो । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरुका लागि नेरु १२.५५ करोड भुक्तानी दिइएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् ।

दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍यो । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुले भारतको ७८ औं स्वतन्त्रता दिवसको उत्सवमा सहभागीता जनाएका थिए । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।

आजको कार्यक्रम दूतावासको सोसल मिडिया ह्यान्डलहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।