एतिहासिक सम्पदा पुनःनिर्माणमा जुटेको भक्तपुर नगरपालिकाले आठ सय वर्ष पुरानो भाजु पोखरीको निर्माण सम्पन्न गरेर एक समारोहकाबीच उद्घाटन गर्दै सर्वसाधारणका लागि खुल्ला गरिएको जनाएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ स्थित उक्त पोखरी मध्यभागमा रहेको जलेश्वर मन्दिरको शुक्रबार उद्घाटन गरिएको हो । जनश्रमदान र महिला कामदारबाट निर्मित उक्त पोखरी र जलेश्वर मन्दिर पुन निर्माणका लागि भक्तपुर नगरपालिकाको कुल रकम २ करोड ५१ लाख ७९ हजार ९०३ लागतमा सम्पन्न गरेको हो ।
तीन दशकअघि भाजुपोखरीको पानी सुकेर दुबो मौलाएको थियो । यसको पुरातात्विक महत्वलाई बुझेर भक्तपुर नगरपालिकाले पुनः निर्माणको कार्य अघि बढायो । क्रंक्रिट हालेर होइन, परम्परागत शैलीमा निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो ।
सिद्धपोखरीबाट करिब १५ मिटर दक्षिणतर्फ रहेको यो पोखरी भागीराम प्रधानाङ्ग अर्थात् “भाजुकस’ ले आठसय बर्ष पहिले निर्माण गरेको संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँनु हुन्छ । राजा जितामित्र मल्लका प्रमुख विश्वासपात्र मध्ये एक थिए भाजुकस ।
आफ्नो कीर्ति राख्न यो पोखरी निर्माण गरेको उहाँको भनाइ छ । साना ठूला गरी ५० बढी पोखरीले भरिएको भक्तपुरमा यसको पुनःनिर्माणले थप पहिचान झल्काएको स्थानीयको भनाइ छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको यो पोखरीलाई स्थानीयले आफ्नै बलबुत्तामा निर्माण सम्पन्न गरेका हुन् ।
जीर्णोद्धार सुरु हुनुअघि भुकम्प पीडितको आश्रयस्थलमा परिणत भएको थियो । करिब ९ महिना लगाएर नगरपालिकाले पहिलेकै स्वरुपमा ल्याएको हो ।



