नेप्से १५ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

Headlines बैंक/वित्त

सोल्टी होटलको ३२ करोडभन्दा बढीको सेयर किनबेच, बैंकिङ उपसमूहमा सबैभन्दा धेरै वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से सामान्य अंकले बढेको थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स ३.८६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५३ अंकले बढेका छन् ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन ३५० कम्पनीका १ करोड ४६ लाख ७० हजार कित्ता सेयर ५२ हजार ३८७ पटकको कारोबारबाट किनबेच भएका छन् ।

यस दिन एभरेष्ट कलरको सेयरमूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशत बढेको छ । अर्कोतर्फ मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ८ प्रतिशत घटेको छ । मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य पनि ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३२ करोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र १६.८४२१ प्रतिशत नगद लाभांश घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । ग्लोबल आइएमई बैंकको करिब ३१ करोड र लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने दुई वटाको घटेको छ । बैंकिङ उपसमूह सबैभन्दा धेरै १.२४ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूह पनि १ प्रतिशतले बढेको छ । लघुवित्त र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।