Trade Expansion, Trade Deficit Tension: चार महिनामै वैदेशिक व्यापार ९ खर्ब नाघ्दा घाटा ६.६८ खर्ब!

Sticky News आर्थिक

चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा ६ खर्ब ६८ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वस्तु आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा आयात ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ थियो ।

यसैगरी, वस्तु निर्यात ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो चार महिनामा निर्यात ९३ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

आयातको तुलनामा निर्यातको आकार सानो रहेकाले चार महिनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा आयात–निर्यात अनुपात ५.९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.५२ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशत कायम भएको छ ।