भुक्तानी प्रणाली सुरक्षित, ग्राहकका विवरण असुरक्षित! Visa–Mastercard मा साइबर जोखिम

Headlines अन्तराष्ट्रिय

बाह्य सेवा प्रदायकमाथि साइबर आक्रमण, ग्राहकका नाम र विद्युतीय पत्राचारका ठेगाना सार्वजनिक भएको आशंका

क्यानबेरा । विश्वका प्रमुख भुक्तानी सेवा प्रदायक भिसा र मास्टरकार्डसँग सम्बन्धित केही ग्राहकका व्यक्तिगत विवरण साइबर आक्रमणकारीको पहुँचमा पुगेको खुलासा भएको छ ।

नोभेम्बर १९ मा सार्वजनिक विवरणअनुसार, दुवै कम्पनीलाई सेवा प्रदान गर्ने बाह्य सेवा प्रदायकमाथि भएको साइबर आक्रमणका कारण सीमित ग्राहकका व्यक्तिगत विवरण जोखिममा परेका हुन् ।

भिसाले एसिया–प्रशान्त क्षेत्रमा रहेको आफ्नो एक बाह्य सेवा प्रदायकसँग सम्बन्धित साइबर सुरक्षा घटना भएको जनाएको छ । कम्पनीका अनुसार आफ्नै भुक्तानी प्रणालीमा कुनै असर परेको छैन। कार्ड नम्बर तथा भुक्तानीसम्बन्धी संवेदनशील विवरण चोरी भएको पनि पुष्टि भएको छैन ।

त्यस्तै, मास्टरकार्डले आफ्नो विशेष सुविधा कार्यक्रममा आबद्ध केही ग्राहकका विद्युतीय पत्राचारका ठेगाना बाह्य सेवा प्रदायकसम्बन्धी घटनाका कारण सार्वजनिक भएको पुष्टि गरेको छ । कम्पनीले समस्या नियन्त्रणमा लिइसकेको र आफ्नो भुक्तानी सञ्जाल सुरक्षित रहेको जनाएको छ ।

अमेरिकी वित्तीय संस्था जेपीमर्गन चेजले पनि आफ्ना बाह्य सेवा प्रदायकमाथि साइबर आक्रमण भएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार केही ग्राहकका नाम र विद्युतीय पत्राचारका ठेगानासहितका बजार प्रवद्र्धनसम्बन्धी विवरणमा अनधिकृत पहुँच पुगेको हुन सक्ने बताइएको छ ।

साइबर आक्रमणकारी समूहले यी घटनाको जिम्मेवारी लिएको दाबी गरे पनि सार्वजनिक गरिएका विवरणको पूर्ण सत्यता स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ ।

कम्पनीहरूले आफ्ना मुख्य भुक्तानी प्रणालीमा कुनै अवरोध नआएको र ग्राहकका कार्डमार्फत हुने कारोबार सामान्य रूपमा सञ्चालन भइरहेको बताएका छन् ।

यस घटनाले बैंक तथा वित्तीय संस्थाले आफ्ना प्रणाली सुरक्षित राखे पनि बाह्य सेवा प्रदायकमार्फत ग्राहकका व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने चुनौती उजागर गरेको छ ।

ग्राहकलाई अपरिचित विद्युतीय सन्देश तथा शंकास्पद लिङ्कबाट सावधान रहन आग्रह गरिएको छ । बैंक वा कार्ड कम्पनीको नाममा व्यक्तिगत विवरण, गोप्य सङ्केत वा सुरक्षा नम्बर माग्ने सन्देश आएमा आधिकारिक माध्यमबाट पुष्टि गर्न सुझाव दिइएको छ ।