सुक्खायामको बिजुलीका लागि फेरि भारतकै भर, १५० मेगावाट किन्न नयाँ बोलपत्र आह्वान गरिँदै

Headlines आर्थिक पूर्वाधार तथा विकास निर्माण

सबैभन्दा कम दर प्रस्ताव गरेको भारतीय कम्पनीले नै सम्झौता गर्न मानेन, भोटेकोशी बाढीले ४३० मेगावाट उत्पादन प्रणालीबाट बाहिरिँदा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण

काठमाडौं । आगामी सुक्खायाममा आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसक्ने आकलनसहित नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न नयाँ बोलपत्र आह्वान गर्ने भएको छ । चौबिसै घण्टा विद्युत् उपलब्ध गराउने गरी सन् २०२७ जनवरीदेखि मेसम्मका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रस्ताव माग्न लागिएको हो ।

यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतीय तीन कम्पनीसँग दर प्रस्ताव मागेको थियो । सबैभन्दा कम दर प्रस्ताव गरेको कम्पनीले समेत पछि सम्झौता गर्न नसक्ने जनाएपछि प्राधिकरण पुनः प्रतिस्पर्धात्मक प्रक्रियामा जान लागेको हो । यसले आगामी सुक्खायामका लागि विद्युत् आपूर्ति सुनिश्चित गर्ने चुनौतीसँगै खरिद मूल्यको अनिश्चितता पनि देखाएको छ ।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् चौबिसै घण्टा उपलब्ध हुने गरी खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ । प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो ।

समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्न पनि सुझाव दिएको छ । विशेषगरी अप्रिल र मे महिनामा विद्युत्को माग बढ्ने भएकाले बजारको अवस्था हेरेर थप खरिदको निर्णय लिनुपर्ने समितिको निष्कर्ष छ ।

नेपालमा पछिल्ला दुई–तीन वर्षदेखि सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतको विद्युत् पावर एक्सचेन्जको डे अहेड मार्केट र रियल टाइम मार्केटबाट विद्युत् खरिद हुँदै आएको छ । यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनामा क्षति पुर्‍याएपछि आगामी सुक्खायाममा आयातमा निर्भरता अझ बढ्ने देखिएको छ ।

बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । आगामी सुक्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको भए पनि नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान प्राधिकरणको छ । त्यसैले नयाँ आयोजना थपिए पनि सुक्खायामको माग धान्न पर्याप्त नहुने प्राधिकरणको आकलन छ ।

विद्युत् खरिदको पुरानो प्रक्रिया भने मूल्यमा सहमति हुन नसक्दा टुंगिन सकेन । प्राधिकरणले यसअघि भारतका तीन कम्पनीसँग १५० मेगावाट विद्युत् खरिदका लागि दर प्रस्ताव मागेको थियो । एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट भारतीय ६ रुपैयाँ ९० पैसा, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए ।

तीनमध्ये सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो । असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाइएकामा कम्पनीले भोलिपल्ट पत्र पठाएर प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जनाएको थियो ।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनोको प्रभाव र भारतभित्रै विद्युत् माग बढेको कारण देखाउँदै पुरानो दर पुनरावलोकन गर्नुपर्ने जनाएको थियो ।

भारतीय विद्युत् बजारमा मूल्य बढ्दै गएको तथ्यांकले पनि खरिद प्रक्रियामा दबाब परेको देखाउँछ । भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा गत असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट नेपाली ११ रुपैयाँ ७४ पैसा अर्थात् भारतीय ७ रुपैयाँ ३४ पैसा पुगेको थियो । यो मूल्य एनटीपीसीले सुरुमा प्रस्ताव गरेको प्रतियुनिट ६ रुपैयाँ ९० पैसाभन्दा बढी हो ।

पुरानो प्रस्तावमा सम्झौता हुन नसकेपछि प्राधिकरणले अब अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नयाँ दर माग्ने तयारी गरेको छ । प्रतिस्पर्धाबाट तुलनात्मक रूपमा सस्तो दरमा विद्युत् खरिद गर्ने प्राधिकरणको लक्ष्य छ । तर भारतीय बजारमा मूल्य बढिरहेको र सुक्खायाममा मागसमेत उच्च हुने भएकाले नयाँ बोलपत्रबाट कस्तो दर प्राप्त हुन्छ भन्ने चासो छ ।

आन्तरिक उत्पादनमा बाढीको क्षति, नदीमा पानीको बहाव घट्दा नयाँ आयोजनाको उत्पादन क्षमतामा आउने कमी र भारतबाट खरिद गर्नुपर्ने विद्युत्को मूल्यसमेत अनिश्चित रहेकाले आगामी सुक्खायाममा आपूर्ति व्यवस्थापन प्राधिकरणका लागि चुनौतीपूर्ण हुने देखिएको छ ।