२०८३ मंसिर ७

खनिजजन्य सामग्रीको उपयोग र निर्यात प्रवद्र्धन कार्यक्रम तत्काल ल्याउन मन्त्री साहको आग्रह

आर्थिक

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विज्ञहरूसँग छलफल गरिएको छ ।

सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, मन्त्रालयका सचिव तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै उद्योगमन्त्री साहले नेपालमा छलफल धेरै हुने तर काम कार्यान्वयनमा नजाने प्रवृत्तिका कारण विभिन्न आर्थिक अवसर गुमिरहेको बताए । उनले जलविद्युत् र निर्माण सामग्रीको क्षेत्रमा उपलब्ध अवसरलाई समयमै उपयोग गर्न नसक्दा देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

उनले भने, ‘नेपालमा छलफल धेरै हुन्छ तर ‘वर्क डन’ हुँदैन । हामीले अवसर गुमाइराखेका छौँ । हाइड्रोपावरको अवसर १५ वर्ष पहिला थियो, त्यो आज छैन । मैंले भन्ने गरेको छु–एउटा हाइड्रोपावरले वर्षको तीन खर्ब रुपैयाँ पनि गुमाएको हामीसँग उदाहरण छ ।’

उनले अहिले भारत र बङ्गलादेशमा निर्माण सामग्रीको माग रहेको र भुटानले समेत पहाडी स्रोतलाई उपयोग गरेर निर्माण सामग्री निर्यात गरिरहेको उदाहरण दिए । नेपालले पनि खानी तथा नदीजन्य स्रोतको उपयोग गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो ।

यसका लागि तत्काल ‘राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवद्र्धन कार्यक्रम’ ल्याउनुपर्नेमा जोड दिँदै उनले समितिका सभापतिलाई समेत आवश्यक निर्देशन दिन आग्रह गरे ।

उनले भने, ‘म यही कारणले अहिले तुरुन्तै हाम्रो सम्बन्धित निकायहरूलाई, सभापतिजीलाई पनि एउटा निर्देशन दिन आग्रह गर्छु । ‘राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवद्र्धन कार्यक्रम’ तुरुन्तै ल्याउने । किनभने यो ऐनको छलफल हुँदै गर्दा कोसी रिभरमै ‘ह्वाइट गोल्ड’ भन्छु म यति बिलियनौँ टन बालुवा थुप्रिएको छ । त्यसलाई ड्रेजिङ गरेर त्यो बालुवालाई हामीले निकाल्न सक्छौँ।’

नदीमा थुप्रिएको बालुवा तथा निर्माणजन्य सामग्रीको समयमै उपयोग गर्न नसके भविष्यमा त्यही सामग्री समस्या बन्न सक्ने उनले बताए । नदीको सतह बढ्दै गएको उल्लेख गर्दै मन्त्री साहले यस विषयमा मन्त्रालयका अधिकारीहरूलाई तत्काल काम अघि बढाउन आग्रह गरे ।

मन्त्री साहले समितिमा विज्ञहरूले दिएका सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्ने प्रतिबद्धता पनि जनाए । खानी तथा खनिज क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना र सञ्चालनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मन्त्रालय सम्हालेदेखि नै यस क्षेत्रमा कामलाई तीव्रता दिन लागिरहेको बताए ।

यस्तै, समितिका सभापति रहबर अन्सारीले विचाराधीन विधेयकलाई थप व्यवस्थित र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । सरोकारवाला, विज्ञ तथा मन्त्रालयका सुझाव समेटेर विधेयकलाई परिणाममुखी बनाउनुपर्ने उनको भनाइ थियो ।

विगतमा एकेडेमिक क्षेत्रलाई संलग्न गराइयो वा गराइएन भन्ने विषयमा आफूले टिप्पणी नगर्ने स्पष्ट पार्दै सभापति अन्सारीले आगामी दिनमा समितिले प्राज्ञिक क्षेत्रलाई गम्भीरतापूर्वक लिने बताए । आवश्यक परे प्राज्ञिक क्षेत्रका विज्ञहरूसँग बसेर छलफल गर्न समिति तयार रहेको उनले स्पष्ट पारे ।

विधेयक पारित भएपछि त्यसका प्रावधानमाथि प्रश्न उठ्ने र समितिले आलोचना खेप्नुपर्ने अवस्था आउन नदिन अहिले नै पर्याप्त छलफल र अध्ययन आवश्यक रहेको उनले बताए ।

त्यस्तै, विधेयक ऐनमा रूपान्तरण भएपछि खानी तथा खनिज क्षेत्रले राज्यको पुँजी र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुर्‍याउने योगदान बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सभापति अन्सारीले बताए ।