काठमाडौं । औद्योगिक प्रदूषण घटाउँदै स्वच्छ ऊर्जा प्रयोग बढाउन सरकारले ‘नेपाल स्वच्छ वायु तथा समृद्धि परियोजना’ अघि बढाएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) ले परियोजनाका लागि ३ करोड अमेरिकी डलर सहुलियत ऋण र ४० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने सम्झौता गरेको छ ।
परियोजना कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंकलाई वित्तीय मध्यस्थकर्ताका रूपमा छनोट गरिएको छ । कर्जा प्रवाहका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।
त्यस्तै, उद्योगहरूलाई अनुदान उपलब्ध गराउन उद्योग मन्त्रालय, उद्योग विभाग र राष्ट्रिय वाणिज्य बैंकबीच पनि सम्झौता भएको छ ।
परियोजनाबाट करिब ४०० उद्योग लाभान्वित हुने अपेक्षा गरिएको छ । उद्योगहरूमा स्वच्छ ऊर्जाको प्रयोग बढाएर औद्योगिक प्रदूषण घटाउने र वायुको गुणस्तर सुधार गर्ने परियोजनाको उद्देश्य रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले परियोजनामार्फत हरित वित्त प्रवर्द्धनमा सहयोग पुग्ने जनाएको छ ।



