काठमाडौं । वेब प्रविधि PHP मा गम्भीर सुरक्षा जोखिम (Security Vulnerability) पहिचान भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी सेवा प्रदायकहरूलाई उच्च साइबर सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (PSO), भुक्तानी सेवा प्रदायक (PSP) तथा विप्रेषण कम्पनीहरूलाई आफ्ना सर्भर र सूचना प्रविधि पूर्वाधारको सुरक्षा सुदृढ गर्न निर्देशन दिएको हो। साथै, प्रयोगमा रहेका प्रणाली तथा सफ्टवेयरको सुरक्षा अवस्था परीक्षण गर्न, नियमित सुरक्षा निगरानी बढाउन र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न आग्रह गरेको छ।
सम्भावित साइबर जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइटलगायत केही सेवासमेत अस्थायी रूपमा बन्द गरेको जनाएको छ। जोखिमको मूल्याङ्कन तथा सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गरिएको यस कदमबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ।



