काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरीसहित कुनै पनि पेसामा सफल हुन नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
प्रधानमन्त्री शाहले पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने बताए। जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेसागत सफलताको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।
नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका स्वतन्त्रता तथा अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य पूरा गर्न आग्रह गरे।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,’ उनले भने। प्रहरी अधिकृतले नागरिकको भावना बुझेर काम गर्नुपर्नेमा पनि उनले जोड दिए।
प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनभित्र सहयोग र सहकार्यको भावना बलियो बनाउन तथा सूचना प्रविधिको प्रयोगबाट प्रहरीका कामलाई छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताए। प्रविधिको सही प्रयोगले अपराध अनुसन्धानलाई समयमै अघि बढाउन र घटनालाई छिटो नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको उनले बताए। यसका लागि प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना दिए। प्रहरी सेवामा आबद्ध रहन प्रेरित गर्ने परिवारका सदस्यप्रति पनि उनले आभार व्यक्त गरे।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।



