काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना रहेका छन्।
साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएको छ। पछिल्लो एक सातामा विमानस्थलमा भएका आक्रमणमध्ये यो सबैभन्दा घातक घटना भएको समाचारमा उल्लेख छ।
आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरबले गर्ने सैन्य कारबाहीमा अमेरिका सहभागी हुने वा नहुनेबारे विचार गरिरहेको बताएका छन्। उनले साउदी अरबमा भएको घटना स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन्।
यमनमा साउदी समर्थित सरकारी सेना र हुथी विद्रोहीबीच संघर्ष जारी रहेका बेला भएको यो घटनाले खाडी क्षेत्रमा सुरक्षा चुनौती थप बढाएको छ।



