काठमाडौं गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन् ।
सापकोटाका अनुसार नदीमा पानीको बहाव पटकपटक थुनिने र खुल्ने भइरहेको छ । बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको उनले बताए ।
उनले भनेर्, हामी यही तटीय क्षेत्रमा छौँ । गाउँपालिका आसपासमै छौँ। ठूलो बाढी आएको छ। माथि सुक्खा पहिरो गयो र नदी थुनिएर बाढीको रूप लिएको छ भन्ने भनिएको छ। हामीले त्यहाँ सम्म यही हेरिराख्या छौँ। त्यो थुनिँदै खोलिँदै, थुनिँदै खोलिँदै गरिराख्या छ। बाढीको ठूलो झड्का आएको छ। करिब १५०–२०० मिटर जति माथिको एरियासम्म त्यसले कभरेज गर्या छ, उनले भनेर्, तल्लो तटीय क्षेत्रका बस्तीहरू बग्यो भन्ने खबर आएको छ। मानवीय क्षतिबारे अहिलेसम्म कुनै सूचना आएको छैन ।’
उनका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरीलगायत तल्लो तटीय क्षेत्रका बस्ती तथा बजारमा क्षति पुगेको खबर प्राप्त भएको छ । ती क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा ट्रेकिङ एजेन्सीसम्बद्ध होटलहरू बगाएको र केही विद्यालयसमेत बाढीले बगाएको सूचना आएको उनले जानकारी दिए।
बाढीबाट मानवीय क्षति भए–नभएकोबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको सापकोटाले बताए । क्षतिको वास्तविक विवरण संकलन तथा अवस्था बुझ्ने काम भइरहेको र सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले बताए।
नदीमा पानीको बहाव निरन्तर परिवर्तन भइरहेकाले तत्काल क्षतिको यकिन विवरण सार्वजनिक गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
बाढीको जोखिम कायमै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।



