कुमारी बैंकको सबैभन्दा धेरै २१ करोडको कारोबार, १३ वटै उपसमूह बढे
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। अघिल्लो दिन सामान्य अंकले बढेको बजारले शुक्रबार पनि वृद्धि कायम राखेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ३.८० अंकले बढेको छ। फ्लोट इन्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५० अंकले उकालो लागेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। शुक्रबार ३५३ कम्पनीका १ करोड २९ लाख ५ हजार कित्ता सेयर ५२ हजार ४४ पटकको कारोबारमा ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएका छन्। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ। सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको सेयर मूल्य पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। यता रिज लाइन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिस्टिलरीको करिब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
शुक्रबार कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक बढेका छन्। बैंकिङ उपसमूह सबैभन्दा धेरै १.२८ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन उपसमूह पनि करिब १ प्रतिशतले बढेको छ भने अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ।



