दसैंमा बढी भाडा असुल्ने र कालोबजारी गर्नेमाथि कारबाही गरिने

Headlines समाचार

हेलो सरकारमा ग्यास अभाव, भाडा वृद्धि र दसैं भत्ता नपाएको गुनासो

काठमाडौं । दसैं नजिकिँदै गर्दा सरकारले सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कारबाही गर्ने भएको छ। चाडपर्वका बेला यात्रुको चाप बढ्ने र दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले सरकारले यातायात व्यवस्थापनदेखि बजार अनुगमनसम्म कडाइ गर्ने निर्णय गरेको हो।

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७५औँ बैठकले सार्वजनिक यातायातको पर्याप्त व्यवस्था गर्न, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न तथा टिकट र आरक्षण प्रणाली व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। तोकिएकोभन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने र असुरक्षित रूपमा सवारी चलाउने कार्य नियन्त्रण गर्न पनि भनिएको छ।

समितिले खाद्यान्न, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र कृत्रिम अभाव, जम्माखोरी तथा अस्वाभाविक मूल्यवृद्धि रोक्न बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको छ। वस्तु तथा सेवाको मूल्य, तौल, गुणस्तर, म्याद र बिलबिजकसम्बन्धी नियम पालना नगर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्नसमेत निर्देशन दिइएको छ।

सरकारले चाडपर्वमा यातायात र बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्ने निर्णय गरिरहेका बेला नागरिकका गुनासा पनि बढेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार असोज १८ देखि २२ गतेसम्म हेलो सरकारमा १ हजार ७५५ वटा गुनासा प्राप्त भएका छन्।

तीमध्ये श्रमिकले मासिक तलब तथा दसैं भत्ता नपाएको, ग्यास अभाव भएको र हवाई तथा सडक यातायातको भाडा बढेको विषय प्रमुख छन्। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा लिन समस्या भएको, बिलबिजक जारी नभएको, भन्सार छली, अनलाइन ठगी र भ्रष्टाचारको छानबिन गर्नुपर्ने विषयमा पनि गुनासा आएका छन्। कृषकले मल नपाएको तथा साइप्रसमा कन्सुलर सेवा लिन कठिनाइ भएको विषयसमेत हेलो सरकारमा पुगेको छ।

सरकारी विवरणअनुसार उक्त अवधिमा १ हजार १७४ गुनासा समाधान गरिएको छ। तर, समाधान गरिएका, फर्छ्योट भएका र प्रक्रियामा रहेका गुनासाको विवरणमा दोहोरो गणना हुन सक्ने कार्यालयले जनाएको छ।

हेलो सरकारमा ल्यान्डलाइनबाट ३ हजार २ वटा सम्पर्क आएकोमा १ हजार ७७२ वटा व्यवस्थापन गरिएको र १ हजार २३० वटा फोन छुटेको विवरण छ। मोबाइल फोनबाट प्राप्त ७८८ गुनासा तथा सोधपुछमध्ये ६३२ वटा व्यवस्थापन गरिएको छ। भाइबर, ह्वाट्सएप, इमेल र हुलाकमार्फत प्राप्त गुनासा भने यस तथ्यांकमा समावेश छैनन्।

यातायात व्यवस्थापनतर्फ सरकारले सडक दुर्घटनाको जोखिम भएका स्थान पहिचान गर्ने, सवारीको गति नियन्त्रण गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि परीक्षण गर्ने र ट्राफिक नियमको पालना कडाइका साथ गराउने निर्णय पनि गरेको छ। चाडपर्वमा स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, यातायात र सरकारी अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।