काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले हाल कायम जारी तथा चुक्ता पूँजीको ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
लाभांश प्रस्ताव पारित भएसँगै बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुग्ने भएको छ।
साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । जसमा संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल,सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल रहेका छन् । यसैबीच, आजै बसेको नव निर्वाचित सञ्चालक समिति सदस्यहरूको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
साधारण सभाले आ.व.०८२/८३ को वित्तीय विवरण सहित लेखा परीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।



