काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि खुद्रा मूल्य नबढाउने भएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमै ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने भएको छ।
निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास सबैको मूल्य बढेर आएको छ। पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा, मट्टीतेल १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धन १८ रुपैयाँ ६६ पैसा बढेर आएको हो।
त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।
तर हालैको बाढीपहिरोबाट परेको असर, नजिकिँदै गरेको चाडपर्व र उपभोक्ताको अवस्थालाई ध्यानमा राख्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरेको हो। निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य साबिककै कायम राख्ने जनाएको छ।
मूल्य यथावत् राख्ने निर्णयसँगै बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।
आईओसीबाट खरिद मूल्य बढेर आए पनि खुद्रा मूल्य नबढाउँदा त्यसको प्रत्यक्ष भार निगमको वित्तीय अवस्थामा पर्नेछ। निगमका अनुसार पछिल्लो मूल्यसूचीअनुसारको लागत र बिक्री मूल्यबीचको अन्तरका कारण १५ दिनको अवधिमा मात्रै ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढाउँदा ढुवानी तथा दैनिक उपभोग्य वस्तुको लागतमा समेत प्रभाव पर्न सक्ने भएकाले मूल्य यथावत् राखिएको निगमले जनाएको छ। बाढीपहिरोबाट प्रभावित उपभोक्ताको अवस्थालाई समेत निर्णयको आधार बनाइएको निगमको भनाइ छ।




