काठमाडौँ, हिमालयन बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन तथा सम्बन्धित प्रणालीमा आबद्धतासम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतासँगै हिमालयन बैंक SCT को SmartPay Network मा आबद्ध भएको छ। बैंकले अब SmartPay IBFT मार्फत आफ्ना ग्राहकलाई विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज, सुरक्षित तथा प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्ने सुविधा उपलब्ध गराउनेछ।
SCT द्वारा विकास तथा सञ्चालन गरिएको SmartPay IBFT सेवा सहभागी बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहज बनाउने अन्तरबैंक रकमान्तर प्रणाली हो। यस सेवाले विभिन्न वित्तीय प्रणालीबीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँच विस्तारमा सहयोग पुर्याउँदै आएको कम्पनीले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त SCT नेपालमा डोमेस्टिक कार्ड ‘SCT Card’ सुरुवात गर्ने पहिलो संस्था भएको जनाएको छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट, रेमिट्यान्स कम्पनी तथा सहकारी संस्थासहितको नेटवर्कमार्फत SCT UnionPay, Visa, Mastercard, NepalPay, Discover तथा RuPay कार्ड जारी तथा स्वीकार गर्ने नेटवर्क सञ्चालन गर्दै आएको छ।
SCT ले एटीएम, प्वाइन्ट अफ सेल (POS), इन्टरनेट तथा मोबाइल बैंकिङ प्लेटफर्म, SmartQR तथा रकमान्तर सेवामार्फत समेत डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।


