काठमाडौँ — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा ९ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा सरकारको कुल राजस्व संकलन भने १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ रहेको छ। राजस्वभन्दा खर्च बढी भएपछि सरकारको आम्दानी र खर्चबीच करिब ९ अर्ब ७२ करोड रुपैयाँको अन्तर देखिएको हो।
भदौ मसान्तसम्मको कुल सरकारी खर्च वार्षिक बजेट विनियोजनको ९.४१ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ।
कुल खर्चमध्ये चालु शीर्षकमा सबैभन्दा बढी १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा दुई महिनामा ९.६ प्रतिशत खर्च भएको हो।
पुँजीगत खर्च भने निकै न्यून छ। ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा भदौ मसान्तसम्म ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ अर्थात् १.७८ प्रतिशत मात्र खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ भने ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएकोमा ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको १६.५९ प्रतिशत हो।
राजस्व संकलन ११.५८ प्रतिशत
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ करोड ३१ करोड ८३ लाख रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ अर्थात् लक्ष्यको करिब १२.२ प्रतिशत कर राजस्व संकलन भएको छ।
गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकामा दुई महिनामा १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ६.९ प्रतिशत हो।
यसैगरी सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ अर्थात् लक्ष्यको ८.९६ प्रतिशत अनुदान भित्रिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
पहिलो दुई महिनाको तथ्यांकले सरकारको कुल खर्चको तुलनामा राजस्व संकलन पछाडि रहेको देखाएको छ। विशेषगरी पुँजीगत खर्चको गति सुस्त रहे पनि चालु तथा वित्तीय व्यवस्थातर्फको खर्चका कारण कुल सरकारी खर्च २ खर्ब रुपैयाँ नजिक पुगेको छ।


