उपत्यकामा सार्वजनिक सवारी दर्ता रोक कायमै, बाहिर खुला

Headlines आर्थिक

असोज १ देखि उपत्यकाबाहिर यात्रुबाहक सवारी दर्ता खुला; विद्युतीयलाई प्राथमिकता, उपत्यकामा स्कुल बस र सट्टाभर्ना हुने सवारी मात्रै दर्ता

काठमाडौँ — सरकारले असोज १ गतेदेखि देशका अधिकांश क्षेत्रमा यात्रुबाहक सार्वजनिक सवारीसाधनको नयाँ दर्ता खुला गर्ने भएको छ। काठमाडौं उपत्यकामा भने सार्वजनिक सवारीको दर्तामा लगाइएको रोक तत्कालका लागि कायमै राखिएको छ।

यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै सर्तसहित यात्रुबाहक सार्वजनिक सवारीको दर्ता खुला गरेको जनाएको हो। विभागले सातै प्रदेशका यातायातसम्बन्धी मन्त्रालय तथा सबै स्थानीय तहलाई परिपत्र गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको छ।

विभागका अनुसार उपत्यकाबाहिर विद्युतीय र आन्तरिक दहन इन्जिन (आईसीई) दुवै प्रकारका यात्रुबाहक सार्वजनिक सवारी दर्ता गर्न सकिनेछ। तर सार्वजनिक यातायातलाई क्रमशः विद्युतीयतर्फ लैजाने उद्देश्यले विद्युतीय सवारीलाई प्राथमिकता दिन विभागले भनेको छ।

काठमाडौं उपत्यकामा भने हाल सबै प्रकारका नयाँ सार्वजनिक सवारीको दर्ता खुलाइएको छैन। उपत्यकाभित्र स्कुल बस र पुरानो सवारीको सट्टाभर्ना हुने सवारी मात्रै दर्ता गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

उपत्यकाको रुट तथा सार्वजनिक सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै नयाँ सार्वजनिक सवारीको दर्तामा लगाइएको रोक तत्काल हटाउन नसकिने विभागको भनाइ छ।

जेठदेखि दर्तामा रोक

विभागले गत जेठ ७ गते सार्वजनिक हित र सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्ने भन्दै देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोकेको थियो।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा सवारीको संख्या बढ्नु, वायु प्रदूषण तथा ट्राफिक जाम बढ्नु र आवागमनमा समस्या देखिन थालेको भन्दै दर्ता रोकिएको विभागले जनाएको थियो।

त्यसपछि विभागले आवश्यकताअनुसार चरणबद्ध रूपमा सार्वजनिक सवारीको दर्ता खुलाउँदै आएको छ।

पहिलो चरणमा असार ८ गतेसम्म एलसी खोलेर आयात प्रक्रिया अघि बढिसकेका तथा नेपाल भित्रिसकेका सार्वजनिक सवारीको दर्ता खुलाइएको थियो। त्यसपछि साउन १८ गतेदेखि मालबाहक सार्वजनिक सवारीको दर्ता खुला गरिएको थियो।

अब तेस्रो चरणमा असोज १ गतेदेखि सर्तसहित यात्रुबाहक सार्वजनिक सवारीको दर्ता खुला गर्न लागिएको हो।

उपत्यकामा भने रुट व्यवस्थापन, सवारीको चाप, प्रदूषण र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै नयाँ सार्वजनिक सवारीको दर्ता रोकलाई निरन्तरता दिइएको विभागले जनाएको छ।