भोटेकोशी बाढीमा सरकारको कमजोरी र जलवायु संकट जिम्मेवार : विज्ञहरु

Headlines समाचार

काठमाडौं । सरकारी उदासिनताका कारण भोटेकोशी क्षेत्रमा हजारौंको संख्यामा मानवीय क्षति भएको सरोकारवालाले आरोप लगाएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले चीन र भारतसँग क्षतिपूर्ति माग्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

ओलीले राहत तथा उद्धार कार्यमा सरकारी उदशिनताको कारण अत्याधिक मानवीय क्षति भएको दाबी गरेका हुन् । उनले सरकारले प्रदेश, स्थानीय सरकार र जनतासँग समन्वय नगरी ‘हामी नेपाली’ भन्ने गैर–सरकारी संस्थालाई अगाडि सार्नु र त्यसैलाई सर्वेसर्वा बनाएको आरोप लगाए ।

ओलीले बाढी पीडितलाई तत्काल राहत तथा स्थायी भोगचलनसहतिको अन्यत्र पुर्नवासको व्यवस्थाको माग गरे । अत्यधिक ‘हरितगृह ग्याँस’ उत्सर्जनले जलवायू परिवर्तनको मारमा नेपाल परेको भन्दै ओलीले विकसित देशहरुसँग क्षतिपूर्तिको जोडदार माग राख्नुपर्ने जनाए । साथै सरकारले राहत उद्धारमा एकद्वारका नाममा व्यापक भ्रष्टाचारको आशंकासमेत गरेका छन् ।

प्रकृतिक संरक्षणविद डा.दिपक पौडेलले बाढी आउनुको कारण, क्षतिको विवरण र समाधानका बारेमा कार्यपत्रमा समग्र विषय समेटेको बताए । उनले बाढी प्राकृतिक कम हरितगृह ग्याँस उत्सर्जनको प्रभाव ज्यादा भएको उल्लेख गरे ।

पूर्वराजदुत डा. निर्मल विश्वकर्माले जलवायु परिवर्तनले गर्दा नेपाललाई ‘नखाएको विष लागेको’ बताए । उनले हरित गृह ग्याँस उत्सर्जनमा नेपाल १६१ औं देशमा रहे पनि जलवायु जोखिमका हिसाबले चौथो स्थानमा रहेको बताए । विश्वकर्माले सो क्षतिलाई केही विकसित देशले क्षतिपूर्तिबाट बच्न नियोजितरुपमा प्रकृतिक भनिरहेको बताउँदै विशेष गरेर छिमेकी इण्डिया र चीनसँग माग्नुपर्ने धारणा राखे ।

नेकपा(बहुमत)का अध्यक्ष धर्मेन्द्र बास्तोलाले हप्ता दिनसम्म पनि विदेशी विज्ञहरुलाई उद्धारमा अनुमति नदिदा थप मानवीय क्षति भएको दाबी गरे । कतिपय स्वदेशी तथा विदेशी नियकायलाई वेवास्ता गरेको र तिनीहरुलाई सरकारले आफूले तोकेको आइएनजिओमार्फत आउन भन्नुले सरकार संस्थागत भन्दा व्यक्तिगत स्वार्थमा चलिरहेको हुनसक्ने बास्तोलाको कथन छ ।

वैज्ञानिक समाजवादी पार्टीका नेता जागृत रायमाझीले वर्तमान सरकारले प्राकृतिक विपत्तिमा पनि भ्रष्टाचार तथा राजनीतिक स्वार्थ देखाएको आरोप लगाएका छन् । रायमाझीले बाढीमा विदेशी प्राविधिक सहायतालाई मात्रै नरोकी स्वदेशी जनशक्ति र सहयोगी हतहरुलाई बाँधेको उनको कथन छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीषले तत्काल जनतालाई उद्धार गरेर भोटेकोशी क्षेत्रका बस्तिलाई भू–उपयोग नीति बनाएर उपयुक्त ठाउँमा स्थानन्त्ररण गर्नुपर्ने माग राखे ।

पार्टीका अर्का स्थायी समिति सदस्य हरिभक्त काँडेलले बालेन सरकारले हालैको बाढीको महाविपत्तिमा पनि जनताप्रति संवेदनाहीन कार्य गरेको आरोप लगाए । उनले विभिन्न राजनीतिक पार्टी, संघीय, प्रादेशीक र स्थानीय सरकार र स्थानीय जनतासँग समन्वय नगरी एकलौटी गर्दा धेरै मानवीय क्षेति भएको आरोप लगाए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उत्तरी छिमेकी चीनसँग समन्वय गरी हिमालयबारे अध्ययन तथा अनुसन्धान गरी दीर्घकालिन समस्या समाधान गर्न सकिने धारणा राखे । हरित ग्याँस अत्याधिक उत्सर्जन गर्ने अमेरिका, चीन, भारतलगायतका विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने र त्यसका लागि सरकारको दृढ इच्छा शक्तिको खाँचो रहेको कट्टेलको कथन छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा टोलीको नेतृत्व गरेर बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा खटिएका अमिर महर्जनले सरकारको खातामा अर्बौकोे राहत थन्किदा पीडितको हातमा राहत नपुगेको दाबी गरे । पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका महर्जनले जनतालाई न्युनतम आवश्यक सामग्रीको पनि अभाव रहेको जनाए ।

सो पार्टीका रसुवा इर्न्चाज तथा बढी पीडित बद्री चापागाईले सरकारले उद्धारकार्यमा ढिलाई गरेका कारण ठूलो धनजनको क्षति भएको आरोप लगाए ।

पार्टीका नुवाकोट सचिव तथा पीडित अर्जुन लामाले अहिले पनि बाढी पीडितहरुलाई सरकारले उचितढंगबाट राहत उद्धार नगरेको भन्दै चिन्ता व्यक्त गरे ।