निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओका लागि ६ जना सर्टलिस्ट
काठमाडौं — निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ६ जना उम्मेदवार सर्टलिस्ट भएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनबाट उच्च अंक प्राप्त गर्ने ६ जनालाई सर्टलिस्ट गरेको हो।
सर्टलिस्टमा पिताम्बर भण्डारी, प्रताप सुवेदी, महेश रिमाल, विक्रान्त आचार्य, समता पन्त र सुमनकुमार अधिकारी छन्। समितिले उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरेको हो।
अब सर्टलिस्टमा परेका उम्मेदवारले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्ता दिनुपर्नेछ। त्यसका लागि असोज १ र २ गतेको समय निर्धारण गरिएको छ।
निर्धारित कार्यतालिकाअनुसार असोज १ गते पिताम्बर भण्डारीको दिउँसो ३ बजे, प्रताप सुवेदीको ३ः४५ बजे र महेश रिमालको ४ः३० बजे प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ।
त्यस्तै असोज २ गते विक्रान्त आचार्यको दिउँसो ३ बजे, समता पन्तको ३ः४५ बजे र सुमनकुमार अधिकारीको ४ः३० बजे प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ।
प्रस्तुतीकरण र अन्तर्वार्तापछि सिफारिस समितिले तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। तीमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ।
अर्थ मन्त्रालयले रिक्त सीईओ पदमा नियुक्तिका लागि गत असार २७ गते आवेदन माग गरेको थियो। आवेदनका लागि २१ दिनको समय दिइएको थियो।
निक्षेप तथा कर्जा सुरक्षण कोष बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेपको सुरक्षण तथा विभिन्न प्रकारका कर्जाको सुरक्षण गर्ने सरकारी स्वामित्वको संस्था हो। कोषको सीईओले निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी कामको नेतृत्व गर्ने भएकाले नियुक्तिलाई वित्तीय क्षेत्रका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।
7.DCGF Notice_nf2enns

