व्रत, पूजा र जाग्रामसहित देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै, पाटन कृष्ण मन्दिरमा विशेष पूजा

Sticky News पर्यटन विविध

काठमाडौँ — वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार देशभर मनाउँदै छन् । भाद्र कृष्ण अष्टमीका दिन पर्ने यस पर्वमा कृष्ण मन्दिर तथा अन्य धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार जन्माष्टमी मनाउने गरिएको हो । यस दिनको रातलाई ‘मोहरात्रि’ भनिन्छ । जन्माष्टमीका अवसरमा भक्तजनले व्रत बस्ने, भगवान् श्रीकृष्णको पूजा तथा आराधना गर्ने, भजनकीर्तन र प्रवचनमा सहभागी हुने तथा रातभर जाग्राम बस्ने प्रचलन छ ।

श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा वैदिक सनातन धर्ममा पूजा गरिन्छ । अन्याय, अत्याचार र अधर्मको अन्त्य तथा सत्य र धर्मको पक्षमा उभिन श्रीकृष्णले दिएको सन्देशलाई यस पर्वसँग जोडेर हेर्ने गरिन्छ ।

श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशका रूपमा रहेको ‘श्रीमद्भागवतगीता’ हिन्दू धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थ मानिन्छ । कुरुक्षेत्रको युद्धमा अर्जुनलाई कर्तव्य, कर्म, धर्म र ज्ञानका विषयमा श्रीकृष्णले दिएको उपदेशलाई गीताका रूपमा प्रस्तुत गरिएको धार्मिक मान्यता छ ।

पुराण तथा धार्मिक ग्रन्थमा श्रीकृष्णको बाल्यकालदेखि नै विभिन्न लीला र दानवी प्रवृत्तिविरुद्धको संघर्षका प्रसंग उल्लेख छन् । कंश, पुतना, जरासन्ध र शिशुपाललगायतको वधसँग जोडिएका प्रसंग पनि श्रीकृष्णसँग सम्बन्धित धार्मिक कथामा पाइन्छन् ।

जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष पूजाआराधना तथा मेला आयोजना हुन्छ । बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने भएकाले मन्दिर परिसर तथा मङ्गलबजार क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि विशेष प्रबन्ध गरिन्छ ।

त्यसैगरी काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्छ । राजधानी तथा देशका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा विशेष पूजा, भजनकीर्तन र धार्मिक कार्यक्रम आयोजना गरिन्छ ।

जन्माष्टमीका अवसरमा विभिन्न धार्मिक संघसंस्थाले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन् । भक्तजनले दिनभर व्रत बसेर मध्यरातमा श्रीकृष्णको जन्मको प्रतीकात्मक पूजा गर्ने परम्परा पनि छ ।

सरकारले श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

‘श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक’

राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।

उनले सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान पुर्‍याउने भगवान् श्रीकृष्णले मानव जीवनका लागि महत्वपूर्ण धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश दिएको उल्लेख गरेका छन् । यही सन्देशलाई स्मरण गर्दै देशभर श्रीकृष्ण जन्माष्टमी मनाइने उनले बताएका छन् ।

विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा पूजा तथा आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न जन्माष्टमी पर्वले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले पर्वले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।