काठमाडौं, १५ भदौः नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्दा नक्कली क्यूआर कोड तथा बैंक खाता प्रयोग गरी हुन सक्ने ठगीबाट सावधान रहन आग्रह गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै कोषको नाममा नक्कली क्यूआर कोड तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेका घटना सार्वजनिक भएकाले सचेत रहन आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ रहेको यकिन गर्नुपर्नेछ। रकम पठाउनुअघि आफूले प्रविष्ट गरेको रकमसमेत पुनः जाँच गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

कोषमा रकम जम्मा गर्न आवश्यक बैंक खाता विवरण नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित आधिकारिक स्रोतबाट मात्र लिन राष्ट्र बैंकले अनुरोध गरेको छ।
सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमार्फत फैलाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।
त्यस्तै, सहयोग रकम पठाउने क्रममा कसैले ओटीपी, पिन, पासवर्ड वा अन्य संवेदनशील व्यक्तिगत विवरण मागेमा नदिन राष्ट्र बैंकले आग्रह गरेको छ। रकम पठाउँदा आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्नसमेत भनिएको छ।
ठगीमा परेको शंका भए तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक, नेपाल प्रहरीको साइबर ब्युरो अथवा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।
मोबाइल बैंकिङबाटै कोषमा रकम पठाउन सकिने
यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एपबाटै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम पठाउन सकिने व्यवस्था गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एपमा क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफरमार्फत रकम पठाउने व्यवस्थाका अतिरिक्त सोही एपबाट रकम प्रविष्ट गरी तोकिएको खातामा सिधै रकम रकमान्तर हुने छुट्टै विकल्पसमेत उपलब्ध गराउन जानकारी गराएको छ।
यस व्यवस्थाले विपद्का बेला कोषमा सहयोग रकम पठाउने प्रक्रिया सहज बनाउने राष्ट्र बैंकले जनाएको छ।
PSD-Notice-0515


