काठमाडौं । हाइड्रोपावर, निर्जीवन बिमा तथा अन्य समूहका कम्पनीहरुको सेयर मूल्यमा आएको तीव्र गिरावटले नेप्से सूचकमा दबाब परेको छ । सोमबार नेप्से सूचक ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा झरेको हो । आज २१ कम्पनीको भाउ बढ्दा २५३ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी कम्पनीहरुको मूल्य स्थिर रहेको छ। बजारमा व्यापक बिक्री दबाब देखिएसँगै अधिकांश उपसमूह राताम्मे भएका छन्।
१३ उपसमूहमध्ये १२ उपसमूह घटेका छन् भने उत्पादन तथा प्रशोधन समूह मात्रै हरियो देखिएको छ। यस समूहअन्तर्गतका सिमेन्ट कम्पनीहरुको सेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । यो समूह ०.७० प्रतिशतले बढेको छ । जबकि, हाइड्रोपावर समूह २.९४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बिमा समूह ५.०३ प्रतिशत, अन्य समूह ३.३० प्रतिशत, होटल्स तथा पर्यटन २.४४ र जीवन बिमा समूह १.९७ प्रतिशतले घटेको छ ।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ बराबरको क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पूर्वाधार पुनःस्थापनाका लागि सिमेन्टको माग बढ्ने अपेक्षाले लगानीकर्ताहरु सिमेन्ट कम्पनीतर्फ आकर्षित भएका हुन्। यही कारण सूचीकृत अधिकांश सिमेन्ट कम्पनीहरुको सेयर मूल्य बढेको जानकारहरु बताउँछन् ।

यता, बाढीको प्रत्यक्ष असर जलविद्युत् क्षेत्रका कम्पनीहरुमा देखिएको छ। केही आयोजनामा क्षति पुगेपछि ती कम्पनीहरुको भविष्यको आम्दानी र नाफामा असर पर्ने अनुमान गरिएको छ। त्यसको प्रभाव प्रभावित कम्पनीहरु मात्र नभई समग्र जलविद्युत् समूहमा देखिएको छ।
निर्जीवन बिमा कम्पनीहरुमा पनि बिक्री चाप बढेको छ। बाढीपछिको क्षतिको दाबी भुक्तानी बढ्ने र त्यसले कम्पनीहरुको वित्तीय अवस्थामा थप दबाब सिर्जना गर्ने अनुमानका कारण लगानीकर्ताहरुले निर्जीवन बिमा कम्पनीहरुको सेयर बिक्री बढाएका छन्। यसले बिमा समूहको सूचकलाई समेत कमजोर बनाएको छ।
आज कुल ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको २६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनी उपकार लघुवित्त वित्तीय संस्था रहेको छ। यसको सेयर मूल्य १३.१६ प्रतिशतले वृद्धि भएको छ। यता, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी मैलुङ खोला जलविद्युत् रहेको छ, जसको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।


