भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन

जलवायु परिवर्तन समाचार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा नेपालीसँगै विदेशी कामदारसमेत रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीका कारण रसुवाका जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा कार्यरत कर्मचारी र कामदारको सम्पर्क टुटेपछि प्राधिकरणले खोज तथा उद्धारका लागि छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। सञ्चार तथा सडक सम्पर्क अवरुद्ध भएकाले सम्पर्कविहीन रहेकाहरूको अवस्था तत्काल यकिन गर्न कठिन भइरहेको छ।

प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत् आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन्। सोही आयोजनाको साइटमा चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत थप ११ जना पनि सम्पर्कमा आएका छैनन्।

त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र आसपासका एक जना सम्पर्कविहीन छन्।

त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।

चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारी तथा कामदारमध्ये पनि केही सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। केन्द्रमा रहेका ५१ जना भने सम्पर्कमा रहेको विवरणमा उल्लेख छ।

नेपाल विद्युत् प्राधिकरणका त्रिशूली र देविघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी पनि सम्पर्कबाहिर छन्। त्यसैगरी, रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक जना र गोटागन्तीमा कार्यरत एक जना मिटर रिडर समेत सम्पर्कमा छैनन्।

त्यस्तै, त्रिशूली २२० केभीको ३ बी हबमा ठेकेदार कम्पनीमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन छन्। रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मत, सम्भार तथा निर्माण कार्यमा संलग्न २९ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढीपछि कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले विद्युत् आयोजना तथा प्रसारण संरचनाको अवस्थासमेत निरीक्षण गरिरहेको छ।

श्रेष्ठका अनुसार हराइरहेका कर्मचारी तथा कामदारको खोजी र उद्धारलाई प्राथमिकतामा राखेर प्राधिकरणका टोली परिचालन गरिएको छ। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अर्को टोली पनि स्थानीय क्षेत्रमा सक्रिय रहेको उनले बताए।

सम्पर्कविहीन रहेका कर्मचारी कार्यरत उत्पादन तथा प्रसारण संरचनासँग सम्पर्क स्थापित गर्ने प्रयाससमेत भइरहेको प्राधिकरणले जनाएको छ। यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरिएको छ।

बाढीका कारण कतिपय क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले आयोजनामा कार्यरत सबै कर्मचारी र कामदारको अवस्थाबारे पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ। सम्पर्क स्थापित हुँदै गएपछि वास्तविक अवस्था थप स्पष्ट हुने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा रहेका आफ्ना कर्मचारी तथा कामदारको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। साथै, विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा परेको क्षतिको अवस्था पहिचान गरी विद्युत् सेवा पुनःस्थापनाका लागि समेत आवश्यक तयारी अघि बढाइएको छ।

यसैबीच, भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा सम्पर्कविहीन कर्मचारीको संख्या पछिल्ला विवरणमा थप फरक देखिन थालेको छ। केही विवरणमा १९६ जनासम्म कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। सञ्चार सम्पर्क पुनःस्थापित हुँदै जाँदा संख्या यकिन हुने देखिएको छ।

बाढीबाट रसुवाका जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो असर परेको छ। आयोजना क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारको खोजीका साथै विद्युत् संरचनाको सुरक्षा र क्षतिको मूल्यांकन अहिले प्राधिकरणको प्राथमिकतामा रहेको छ।