Insurance or Casino? ‘Double Money’ को खेलमा प्राधिकरणको ब्रेक

Sticky News बैंक/वित्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन तथा लघु जीवन बीमा कम्पनीमा हुने ‘मिस–सेलिङ’ नियन्त्रण गर्न बिक्री प्रक्रियामै कडाइ गरेको छ। अब बीमा पोलिसीलाई ‘एफडी’, ‘ब्याज दिने योजना’, ‘डबल मनी’ वा ‘निश्चित लगानी प्रतिफल’ भन्दै बिक्री गर्न पाइने छैन।

प्राधिकरणले बीमा निक्षेप वा लगानी योजना नभई आर्थिक जोखिम हस्तान्तरण र वित्तीय सुरक्षा प्रदान गर्ने सेवा भएकाले ग्राहकलाई बीमाको वास्तविक प्रकृति लुकाएर पोलिसी बिक्री नगर्न बीमक तथा अभिकर्तालाई निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार बीमालेखमा उल्लेख नभएको निश्चित बोनस, प्रतिफल, रकम वा अन्य लाभ प्राप्त हुने आश्वासन पनि दिन पाइने छैन। ग्राहकलाई बीमा योजना, त्यसका लाभ, जोखिम र सर्तबारे सही, स्पष्ट, पूर्ण तथा तथ्यपरक जानकारी दिनुपर्नेछ।

अभिकर्ताको सामाजिक सञ्जाल पनि कम्पनीको नियन्त्रणमा

प्राधिकरणले अभिकर्ताले आफूखुसी सामाजिक सञ्जालबाट बीमा योजनाको प्रचार गर्नसमेत रोक लगाएको छ। अब कम्पनीले स्वीकृत गरेको प्रचार सामग्री मात्रै प्रयोग गर्नुपर्नेछ।

यसले फेसबुक, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा अभिकर्ताले आफूखुसी आकर्षक प्रतिफल देखाएर बीमा बिक्री गर्ने प्रवृत्तिमाथि कम्पनीको जिम्मेवारी बढाएको छ।

ग्राहक हेरेर मात्रै पोलिसी सिफारिस गर्नुपर्ने

प्राधिकरणले बीमा बिक्रीलाई ‘एकै योजना सबैका लागि’ भन्ने शैलीबाट हटाउन खोजेको छ। अभिकर्ताले ग्राहकको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत र बीमाको उद्देश्य हेरेर उपयुक्त योजना सिफारिस गर्नुपर्नेछ।

बीमा प्रस्ताव पेस गर्दा उक्त योजना निक्षेप वा एफडी होइन भन्ने विषयसमेत ग्राहकलाई स्पष्ट रूपमा बुझाउनुपर्नेछ।

गलत बिक्रीको छुट्टै रेकर्ड राख्नुपर्ने

प्राधिकरणले बीमा कम्पनीलाई ‘मिस–सेलिङ’ सम्बन्धी गुनासोको छुट्टै अभिलेख राख्न निर्देशन दिएको छ। कम्पनीले त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधान र गरिएको कारबाहीको विवरण प्रत्येक त्रैमासमा प्राधिकरणमा बुझाउनुपर्नेछ।

साथै, कम्पनीले अभिकर्ताले प्रयोग गर्ने बिक्री सामग्री परीक्षण गर्ने, ग्राहकका गुनासो विश्लेषण गर्ने तथा सामाजिक सञ्जालबाट हुने बीमा प्रचारको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

उल्लंघन गरे कम्पनी र अभिकर्ता दुवै कारबाहीमा

प्राधिकरणले आफ्नो निर्देशन वा अन्य नियामकीय व्यवस्था उल्लंघन गरी बीमा बिक्री गर्ने, गलत सूचना दिने, भ्रामक प्रचार गर्ने, अतिरञ्जित दाबी गर्ने वा बीमालेखको वास्तविक प्रकृति लुकाउने बीमा कम्पनी तथा अभिकर्ता दुवैलाई बीमा ऐन, २०७९ अनुसार कारबाही हुने स्पष्ट पारेको छ।

प्राधिकरणको यो निर्देशनले बीमा बिक्रीमा ‘प्रतिफल बेच्ने’ भन्दा ‘जोखिमको सुरक्षा बेच्ने’ संस्कार विकास गर्न खोजेको देखिन्छ। यससँगै अभिकर्ताले ग्राहकलाई के भने, कुन सामग्री प्रयोग गरे र त्यसबाट ग्राहकमा कस्तो अपेक्षा सिर्जना भयो भन्ने विषय पनि बीमा कम्पनीको नियामकीय निगरानीमा आउने भएको छ।

bimaa