काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रंगकर्मी एवं अभिनेता स्वर्गीय हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
रिमालको जन्मजयन्ती पारेर शुक्रबार राजधानीको मध्य वानेश्वरस्थित रिमालकै निवासमा अर्धकदको प्रतिमा पनि अनावरण गरियो ।
समारोहमा कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठी, संस्थापक संरक्षक कल्याणी रिमाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रष्ठिानका कुलपति ब्रजेश खनाललगायतले लयप्रसाद मैनालीद्धारा निर्मित प्रतिमा अनावरण गरे।
सोही अवसरमा कला, संगीत र सञ्चार क्षेत्रका व्यक्तित्वहरुलाई प्रष्ठिानद्धारा स्थापिति विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेता हरिहर शर्मालाई नगद ५१ हजार १ रुपैंयाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कार प्रदान गरिएको छ।
त्यसैगरी पत्रकार विरेन्द्र जैरीलाई ३१ हजार १ रुपैंयाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्य सञ्चार सेवा सम्मान पुरस्कार प्रदान गरिएको छ । गीत संगीतका साथ अगाडि बढाइएको कार्यक्रममा गायक तथा संगीतकार सञ्जय श्रेष्ठलाई ३१ हजार १ सहित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत बिशेष सम्मान पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा रिमालद्धारा गाइएका लोकप्रियत गीतहरु प्रस्तुत गरिएको थियो। गायक जे पापीले रिमालको लोकप्रिय गीत न त सम्झिनु न त बिर्सनु, घनश्याम गौतमले बिना बादल असिना पर्दैन र कपिल लोहनीले फगत एक नजरमा बोलका गीत प्रस्तुत गरेका थिए।
समारोहलाई स्वागत गर्दै प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले रिमाललाई उनका तीनै विधा कला, साहित्य र संगीतबाट जिवित राख्न प्रतिष्ठानले यी तीनै विधामा काम गरिरहेको जानकारी गराए।
सापकोटाले रिमाल निवासमै रङ्गमञ्च तथा नमो बुद्धमा फिल्म स्टुडियो निर्माण गर्ने जानकारी गराउँदै विगतमा नाट्य महोत्सव र लघु फिल्म प्रतियोगिता आयोजना गरेको अबको गीतमा संगीत महोत्सव गर्ने जानकारी गराए।
प्रज्ञा प्रतिष्ठानका कुलपति खनालले नेपाली हिन्दुको महान् पर्व दशैं आउनु पूर्व यो कार्यक्रम नै कला क्षेत्रको लागि अर्को ठूलो दशैं भएको चर्चा गरे।
उनले पहिलेका संगीत र कलामा आत्मा हुने चर्चा गर्दै अहिले छिटै चमत्कार हुने लोभमा त्यो हराउँदै गएको टिप्पणी गरे। खनालले रिमाल प्रतिष्ठानले आयोजना गर्ने संगीत महोत्सवमा संगीत तथा नाट्य प्रतिष्ठान अंशियार हुन पाउने अपेक्षा पनि सुनाए।
सम्मानितहरुको तर्पmबाट बोल्दै हरिहर शर्माले रिमालले सुक्ष्मभन्दा सुक्ष्म कुरामा ध्यान दिएर स्वाभाविक र सरल अभिनय गर्ने र गराउने तथा आफुले अभिनय गर्दा त्यो कुरा सम्झने गरेको बताए। कार्यक्रममा सभापति प्रा डा वासुदेव त्रिपाठीले रिमालको प्रतिमा स्थापनाले उनी फेरि फर्केको अनुभुति भएको बताए।
रिमाल नेपाली रेडियो नाटकका अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन्। रेडियो नेपाल स्थापना भएपछि सन् १९५०÷५१ तिर शंकर लामिछानेको रचनामा रहेको दिल टुक्रा भएर आँखाको बाटो बगेछ बोलको गीत रेकर्ड गराएर उनी रेडियो नेपालका पहिलो गायक बनेका थिए।
रेडियो नाटकको विकासमा समेत उनको महत्वपूर्ण योगदान रहेकाले उनलाई नेपाली रेडियो नाटकका पिता भनेर समेत चिनिन्छ ।
रंगमञ्च र रेडियो नाटकका विशिष्ट निर्देशक रिमाल रंगमञ्चिय र फिल्मको अभिनय तथा गायनमा सक्रिय थिए । रिमाल नेपाली फिल्म क्षेत्रका प्रारम्भिक कलाकारमध्ये पनि एक हुन्। उनले नेपाली कलाकारलाई लिएर नेपालमै सुटिङ गरिएको नेपालको पहिलो फिल्म आमामा समेत अभिनय गरेका थिए।
त्यसपछि मनको बाँध, के घर के डेरा लगायतका फिल्ममा समेत उनको अभिनय देख्न सकिन्छ। अभिनयसँगै उनले निर्देशनसमेत गरेका थिए।
करिब सात दशक लामो नेपाली रंगमञ्च, रेडियो, संगीत र अभिनय यात्रामा रिमालले बहुआयामिक योगदान दिएका थिए। नेपाली रंगमञ्चलाई व्यावसायिक तथा कलात्मक रूपमा अघि बढाउने प्रारम्भिक पुस्ताका कलाकारका रूपमा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ।


