नेपाल–भारत आर्थिक साझेदारी विस्तारमा जोड, व्यापार सन्धि सुधारदेखि ऊर्जा सहकार्यसम्म

Sticky News अर्थ पूर्वाधार तथा विकास निर्माण

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई समयअनुकूल बनाउँदै नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका छन्। उनले दुई देशबीच भौतिक, डिजिटल र ऊर्जा कनेक्टिभिटी विस्तारसँगै व्यापार, लगानी र सीमापार विद्युत् सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादमा नेपाल–भारत सम्बन्धका आर्थिक, रणनीतिक र विकासका विषयमा धारणा राखेका हुन्।

उनले बदलिँदो आर्थिक तथा भूराजनीतिक परिवेशअनुसार नेपाल–भारत सम्बन्धलाई थप परिणाममुखी बनाउन कनेक्टिभिटी, ऊर्जा, लगानी र व्यापारलाई प्राथमिकतामा राख्नुपर्ने बताए। भौतिक पूर्वाधारसँगै डिजिटल कनेक्टिभिटी र ऊर्जा सञ्जाल विस्तारले दुई देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउन सक्ने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले नेपालले हालै भोगेको प्राकृतिक विपद्बारे पनि कार्यक्रममा चर्चा गरेका थिए। विपद्का कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले संकटका बेला भारत सरकार र भारतीय जनताले देखाएको तदारुकता तथा उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे।

विपद्पछिको पुनर्निर्माणलाई सुरक्षित र दिगो बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’को अवधारणालाई अघि बढाइरहेको उनले बताए। क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्दा भविष्यमा आउन सक्ने जोखिमलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको असर हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले ठूलो रूपमा भोग्नुपरेको वाग्लेले बताए। जलवायु परिवर्तनबाट प्रभावित मुलुकका समस्या अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए।

जलवायु जोखिम सम्बोधन गर्न परम्परागत विकास सहायता मात्र पर्याप्त नहुने भन्दै उनले हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम परिचालन गर्नुपर्ने बताए। जलवायु जोखिम र पूर्वाधार विकासलाई सँगसँगै सम्बोधन गर्न सके नेपालजस्ता विकासशील मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

वाग्लेले नेपाल–भारतबीचको विद्यमान व्यापार सन्धिलाई समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए। व्यापार घाटा घटाउन तथा गैरभन्सार अवरोध हटाउन द्विपक्षीय व्यापारसम्बन्धी व्यवस्थामा सुधार आवश्यक रहेको उनले बताए।

नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने र व्यापारमा देखिएका गैरभन्सार अवरोध हटाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

नेपालमा लगानीको वातावरण सुधार गर्न पछिल्लो समय नीतिगत तथा कानुनी सुधार गरिएको जानकारी दिँदै उनले भारतबाट ऊर्जा, उत्पादनमूलक उद्योग तथा प्रविधिको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन आग्रह गरे।

नेपालको ऊर्जा क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले विद्युत् उत्पादन, प्रसारण र सीमापार विद्युत् व्यापारमार्फत दुई देशले आर्थिक लाभ लिन सक्ने बताए। ऊर्जा सहकार्यलाई दीर्घकालीन आर्थिक साझेदारीको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।

“हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,” उनले भने, “वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ। पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो।”

आर्थिक विकासका लागि नीतिगत स्थायित्व, संस्थागत क्षमता र सुशासन आवश्यक रहेको उनले बताए। लगानीको वातावरण सुधार गर्न कानुनी तथा संस्थागत सुधारसँगै राज्यका निकायलाई थप जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो।

गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्री सहभागी थिए। इन्डिया इन्टरनेसनल सेन्टरका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादको आयोजना गरेका थिए।

कार्यक्रममा पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्य सभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरणलगायत सहभागी थिए।

त्यस्तै अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालयका एमेरिटस प्रोफेसर प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति तथा द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैडरसहित नेपाली प्रतिनिधिमण्डल सहभागी थियो।

छलफलका क्रममा सहभागी भारतीय विज्ञ तथा कूटनीतिज्ञहरूले नेपाल–भारत सम्बन्धमा सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

दुई देशबीच स्थापित संयन्त्रलाई थप परिणाममुखी बनाउँदै आर्थिक सहकार्यका विषयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने धारणा पनि सहभागीहरूले राखेका थिए।

नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक सम्बन्धमा मात्र सीमित नराखी व्यापार, लगानी, ऊर्जा, प्रविधि, कनेक्टिभिटी र विकास वित्तसँग जोडेर अघि बढाउनुपर्ने विषय संवादमा प्रमुख रूपमा उठेको थियो।