सरकारी कार्यालयमा अनुशासन कडाइ, पाँच महिनामै ११ हजार कर्मचारी कारबाहीको दायरामा

Headlines समाचार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि सरकारी कार्यालयको अनुगमन र कर्मचारीमाथिको निगरानी तीव्र बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो पाँच महिनामा ९२४ सरकारी कार्यालयको अनुगमन गर्दा ११ हजार ४ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको जनाएको छ।

केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयमा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यालय समयमा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारी फेला परेका छन्।

अनुशासन उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा निकै बढी हो। २०८१ चैतदेखि २०८२ साउनसम्म केन्द्रले ३१८ वटा कार्यालय अनुगमन गर्दा आचारसंहिता तथा समय पालना नगर्ने २ हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी २ हजार ७७५ कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको थियो।

यस वर्ष अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणा बढेको छ। कार्यालय अनुगमनसँगै अनुशासन उल्लंघनमा भेटिने कर्मचारीको संख्या पनि उल्लेख्य रूपमा बढेको केन्द्रको तथ्यांकले देखाएको छ।

उजुरी फछ्र्यौटमा पनि तीव्रता

सरकारी कार्यालयमा हुने अनियमितता तथा जनगुनासोमाथिको कारबाहीमा पनि सतर्कता केन्द्रले गति बढाएको छ।

गत चैतदेखि साउनसम्म केन्द्रमा १ हजार २९८ उजुरी दर्ता भएकामा १ हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत फछ्र्यौट भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४.१० प्रतिशत मात्र फछ्र्यौट भएका थिए।

यस आधारमा उजुरी फछ्र्यौट दर ११.७२ प्रतिशत विन्दुले बढेको केन्द्रको तथ्यांक छ।

सरकारी सेवा प्रवाहमा हुने ढिलासुस्ती, कर्मचारीको अनुशासनहीनता तथा अनियमितता नियन्त्रण गर्न केन्द्रले कार्यालय अनुगमनलाई थप प्रभावकारी बनाएको जनाएको छ।

केन्द्रले सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन ०१४२००३४५ मा दिन सकिनेछ।