दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणको काम ६२ प्रतिशत पूरा भएको छ।
आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधमा हालसम्म ४ लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको छ। बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्ने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
उनका अनुसार मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ। बाँधमा कङ्क्रिट भर्ने काम निरन्तर भइरहेकाले आगामी दिनमा थप प्रगति हुने उनले बताए।

प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले पाएको छ। यस प्याकेजमा हालसम्म ५९ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ।
मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्। सेती नदीलाई मुख्य बाँध निर्माणस्थलबाट पथान्तरण गरिएको छ।
बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भइसकेको छ। दुवै किनारमा रहेका आठवटा ग्राउटिङ टनेल पनि निर्माण भएका छन्। मुख्य बाँधमा कङ्क्रिट भर्ने काम २०८१ चैत ७ गतेदेखि सुरु भएको हो।
बाँधको फाउन्डेसनलाई स्थिर बनाउन विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, कन्सोलिडेसन ग्राउटिङ र कर्टेन ग्राउटिङको काम सम्पन्न गरिएको छ।
त्यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान र ग्याबियन निर्माणको काम पनि भइरहेको आयोजना प्रमुख भण्डारीले बताए।
आयोजनाको मुख्य बाँध निर्माणमा भएको प्रगतिसँगै प्याकेज–१ का अन्य संरचनाको कामसमेत अघि बढिरहेको आयोजनाले जनाएको छ।


