पुँजी बजार विकासमा नीतिगत सुधारलाई प्राथमिकता, आईएमएफसँग बोर्डको छलफल

अर्थ बैंक/वित्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजारको विकासका लागि नीतिगत सुधार र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकता दिएको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच मंगलबार बोर्डको खुमलटारस्थित कार्यालयमा भएको भेटवार्तामा पुँजी बजार विकास तथा सुधारका विषयमा छलफल भएको हो।

भेटमा नेपालको पुँजी बजारको अवस्था, बजार विकासका लागि आवश्यक नीतिगत सुधार, नियामकीय क्षमता सुदृढीकरण तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल भएको बोर्डले जनाएको छ।

छलफलका क्रममा अध्यक्ष भट्टले बोर्डले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अघि बढाएका सुधारका कदमबारे जानकारी गराएका थिए।

आईएमएफका आवासीय प्रतिनिधि गुप्ताले बोर्डले अघि बढाएका पुँजी बजार सुधारका प्रयासमा सकारात्मक धारणा राख्दै आईएमएफलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे।

नेपालको वित्तीय क्षेत्रको विकासमा पुँजी बजारको भूमिका महत्वपूर्ण रहेकाले नियामकीय तथा संस्थागत क्षमता बलियो बनाउँदै बजारलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत भेटमा छलफल भएको थियो।