बागलुङ ,नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय स्तरमा आवश्यक पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता कम गर्दै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभएको छ।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले पर्यटन, कृषि र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो।

बाइसे–चौबिसे राज्यकालदेखि ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज र रोजगारीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा अन्य विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको चर्चा गर्दै ढकालले मुक्तिनाथ पुग्ने पर्यटकको केही हिस्सालाई मात्र बागलुङको भैरवस्थानलगायत पर्यटकीय गन्तव्यमा आकर्षित गर्न सके यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्ने बताउनुभयो।
“मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थान लगायतका पर्यटकीय स्थलमा आकर्षित गर्न सकिए यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ,” उहाँले भन्नुभयो।
पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा बस्ने वातावरण बनाउन गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे विस्तारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। स्थानीय तहबाट केबलकारलगायतका पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक सहयोग र सहजीकरण भए छोटो समयमै सकारात्मक परिणाम हासिल गर्न सकिने उहाँले बताउनुभयो।
ढकालले स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासङ्घको ढोरपाटन बैठकको निर्णयअनुसार १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त कम्पनीले पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रविधिका क्षेत्रमा लगानी विस्तार गर्ने काम सुरु गरिसकेको छ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।


