काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी १ करोड ९३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अध्ययनपछि जिल्ला अदालत भक्तपुरबाट पक्राउ अनुमति लिएर उनीहरूलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेको हो।
रेडक्रसले २०७३ भदौ २२ गते प्रकाशित बोलपत्रअनुसार गोदाम घर सञ्चालनका लागि भक्तपुर नगरपालिका–४ मा रहेका विभिन्न कित्ताको ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो।

तर बोलपत्रमा उल्लेखित सर्तविपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत जग्गा खरिद गरी ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ।
उक्त रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ मध्यस्थकर्ता (बिचौलिया) ले लिएको तथा हिनामिना गरेको आरोप छ।
यस्तै, खरिद गरिएको जग्गाको क्षेत्रफल नापी कार्यालय भक्तपुरबाट यकिन गराउँदा कागजातमा उल्लेख भएको ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलभन्दा कम अर्थात् ५ रोपनी ६ आना २ पैसा १ दाम मात्रै फिल्डमा रहेको पाइएको छ।
बोलपत्रको सर्तविपरीत मध्यस्थकर्तामार्फत जग्गा खरिद गरी रेडक्रस सोसाइटीलाई आर्थिक हानि–नोक्सानी पुर्याएको आरोपमा तत्कालीन पदाधिकारी, कर्मचारी तथा मध्यस्थकर्तामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी घर भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी घर भई हाल मध्यपुर थिमि–१ बस्ने ७० वर्षीय संजीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन्।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।


