सिटिजन्स बैंकको नाफामा ठूलो सुधार, तर Bad Loan ले बढायो दबाब

Headlines बैंक/वित्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ६३.०५ प्रतिशतले बढाएको छ। बैंकले समीक्षा अवधिमा २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो।

नाफामा उल्लेख्य सुधार आए पनि बैंकको खराब कर्जा भने थप बढेको छ। बैंकको गैरनिष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ।

बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने इम्पेयरमेन्ट शुल्कमा आएको ठूलो कमीले मुख्य भूमिका खेलेको देखिन्छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट शुल्क ६९.०५ प्रतिशतले घटेर ८२ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो शुल्क २ अर्ब ६८ करोड रुपैयाँ थियो।

इम्पेयरमेन्ट शुल्कमा आएको कमीको प्रभावले बैंकको सञ्चालन नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा सञ्चालन नाफा ८१.२६ प्रतिशतले बढेर ३ अर्ब ६० करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा १ अर्ब ९८ करोड ६९ लाख रुपैयाँ थियो।

यता, बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.९ प्रतिशतले घटेर ६ अर्ब २९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको निक्षेप संकलन भने बढेको छ। समीक्षा अवधिमा ग्राहक निक्षेप ९.५७ प्रतिशतले वृद्धि भएर २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ थियो।

तर निक्षेपको तुलनामा कर्जा विस्तार निकै सुस्त देखिएको छ। बैंकको कर्जा तथा सापटी ०.७६ प्रतिशतले मात्र बढेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पुँजी ५ प्रतिशतले बढेर १५ अर्ब ५० करोड ७५ लाख रुपैयाँ पुगेको छ। रिजर्भ तथा सञ्चित कोष १९.७४ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

तर रिटेन्ड अर्निङ ३२.७८ प्रतिशतले घटेर ५२ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। ईपीएस अघिल्लो वर्षको ८ रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ।