२०८३ श्रावण २२

आन्दोलन व्यवस्थापनमा सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक : गगन थापा

Headlines राजनीति

काठमाडौं । नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्रः व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल गरिएको छ ।

कार्यक्रमपछि बोल्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्ने विषयमा अझै पनि स्पष्ट उत्तर खोजिरहेको बताएका छन् ।

उनले गत भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको थियो वा कम बल प्रयोग गर्न सकिन्थ्यो भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए । गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि छलफल भए पनि उक्त प्रश्नको स्पष्ट उत्तर अझै प्राप्त नभएको उनको भनाइ थियो ।

उनले भने,‘गत भदौ २३ र २४ गते जे देखियो र भोगियो, त्यसबारे मेरो मनमा अझै एउटा प्रश्न छ । भदौ २३ गते प्रहरीले कम बल प्रयोग गर्न सक्थ्यो कि सक्दैनथ्यो ? त्यति धेरै बल प्रयोग गर्नु आवश्यक थियो कि थिएन ? गौरीबहादुर कार्कीको प्रतिवेदन आयो, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि हामीले छलफल गर्यौं । तर, यो प्रश्नको स्पष्ट उत्तर मैले अझै भेटिरहेको छैन । त्यसैले यो विषयमा अझै गम्भीर छलफल हुन आवश्यक छ ।’

थापाले मधेस केन्द्रित आन्दोलनका क्रममा बारम्बार बल प्रयोग हुने गरेको उल्लेख गर्दै त्यसको कारणबारे पनि बहस हुनुपर्ने बताए । प्रहरी संगठनभित्र मधेसप्रति रहेको सोच वा दृष्टिकोणका कारण अत्यधिक बल प्रयोग भएको हो कि भन्ने विषयमा पनि छलफल गर्नुपर्ने उनको धारणा थियो ।

उनले भने, ‘मधेसमा हुने आन्दोलनमा जहिले पनि बल प्रयोग भएको देखिन्छ । प्रहरीभित्र अनौपचारिक रूपमा हुने छलफलमा मधेसलाई हेर्ने जुन मानसिकता छ, त्यसका कारण बढी बल प्रयोग भएको हो कि भन्ने विषयमा पनि बहस गरौं । आन्दोलनको कुरा आउँदा प्रहरी मात्र होइन, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको भूमिकाबारे पनि प्रश्न उठ्छ । यसपालि सुनसरी घटनामा सेना किन परिचालन गरियो भन्ने प्रश्न पनि उठ्यो । सुरक्षा निकायले बढी बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने, कम बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने अवस्था देखिएको छ ।’

उनले आन्दोलन व्यवस्थापनको जिम्मेवारी प्रहरीमा मात्र सीमित नरहने भन्दै सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको भूमिकाबारे पनि प्रश्न उठेको बताए ।

सुनसरी घटनाका क्रममा नेपाली सेना परिचालन गरिएको विषयमा समेत प्रश्न उठेको उल्लेख गर्दै उनले सुरक्षा निकायले बढी बल प्रयोग गर्दा पनि आलोचना हुने र कम बल प्रयोग गर्दा पनि प्रश्न उठ्ने अवस्था रहेको बताए ।