Kamana Sewa Rewards Shareholders with 15% Cash Dividend

Headlines बैंक/वित्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

बैंकले हालै सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणमा खुद नाफा ३३.५१ प्रतिशतले वृद्धि भएको देखिएपछि लाभांश घोषणा गरेको हो। उक्त विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

सञ्चालक समितिको निर्णयअनुसार साधारण सेयरधनीले १५ प्रतिशत नगद लाभांश (करसहित) प्राप्त गर्नेछन्। साथै, अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि आनुपातिक रूपमा ९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पनि गरिएको बैंकले जनाएको छ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।

यस अघि बैंकले चौथो त्रैमासिक वित्तीय विवरण प्रकासित गरेको थियो जस अनुसार व्यवसाय विस्तार र इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आउँदा बैंकको नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट घटेर १४ करोड रुपैयाँमा सीमित भएको छ। यससँगै खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.१२ प्रतिशतले बढेर २ अर्ब ८४ करोड रुपैयाँ तथा सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, बैंकको खराब कर्जा (NPL) भने केही बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा ३.७७ प्रतिशत पुगेको छ। अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जा असुलीमा केही चुनौती रहे पनि बैंकले नाफा, सञ्चालन आम्दानी तथा व्यवसाय विस्तारमा सकारात्मक सुधार कायम राख्दै लाभांश घोषणा गरेको हो।