काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ५ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्दै वित्तीय प्रदर्शनमा सुधार कायम राखेको छ। बैंकको खुद नाफासँगै निक्षेप, कर्जा, सञ्चालन आम्दानी र वितरणयोग्य नाफामा वृद्धि भएको छ भने लाभांश क्षमता ३८.३२ प्रतिशत पुगेको छ। यद्यपि, खराब कर्जा (NPL) भने सामान्य रूपमा बढेको देखिएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९६ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख ५९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ९ अर्ब १० करोड २३ लाख २४ हजार रुपैयाँ थियो।

त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी उल्लेख्य रूपमा बढेर १ अर्ब ९४ करोड ७२ लाख ६३ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ५३ करोड ४ लाख ९७ हजार रुपैयाँ थियो। यससँगै बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ८६ करोड ४६ लाख २५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा बढेर ७ अर्ब ३८ करोड ४४ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ११ अर्ब १७ करोड ६ लाख १७ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब ३४ करोड ८४ लाख १७ हजार रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य नाफा आर्थिक वर्षको अन्त्यसम्म ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता ३८.३२ प्रतिशत रहेको देखिएको छ।
यद्यपि, बैंकको खराब कर्जा (NPL) भने अघिल्लो वर्षको ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत पुगेको छ। यद्यपि, यो स्तर अझै पनि वाणिज्य बैंकिङ क्षेत्रमा निकै न्यून मानिन्छ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेख्य प्रगति गरेको छ। गत असार मसान्तसम्म बैंकको निक्षेप संकलन ५.७५ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब १ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी १०.३६ प्रतिशतले वृद्धि भई २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ पुगेको छ। बैंकको निक्षेप–कर्जा अनुपात (CCD Ratio) ७७.५७ प्रतिशत रहेको छ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ७२ करोड ७८ लाख २५ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

