Global IME’s Profit Engine Roars: Impairment Cut Powers 22.67% Jump

Headlines बैंक/वित्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले बैंकको Bottom Line उल्लेख्य रूपमा बलियो बनेको संकेत दिएको छ। खुद नाफा, वितरणयोग्य मुनाफा तथा शुल्क–कमिसन आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ भने कर्जा विस्तार, ब्याज आम्दानीको गति र निष्क्रिय कर्जा (NPL) व्यवस्थापन अझै बैंकका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो। अर्थात्, एक वर्षको अवधिमा बैंकको खुद नाफा २२.६७ प्रतिशत ले वृद्धि भएको छ।

यसपटकको Profit Growth को मुख्य आधार भने सञ्चालन आम्दानीभन्दा पनि Risk Cost मा आएको सुधार बनेको देखिन्छ। बैंकको कर्जा नोक्सानी व्यवस्था (Impairment Charge) अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९७ करोड रुपैयाँ बाट घटेर ४ अर्ब ७८ करोड रुपैयाँ मा सीमित भएको छ। करिब १ अर्ब १९ करोड रुपैयाँ ले घटेको इम्पेयरमेन्ट चार्जसँगै गैरब्याज आम्दानी (Non-Interest Income) मा भएको वृद्धिले बैंकको Bottom Line लाई उल्लेख्य रूपमा उकासेको देखिन्छ। अर्थात्, खराब कर्जाका लागि छुट्याउनुपर्ने रकम घट्दा बैंकले कमाएको आम्दानीको ठूलो हिस्सा नाफामा रूपान्तरण गर्न सफल भएको छ।

तर बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ६८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर १६ अर्ब २० करोड रुपैयाँ मा आएको छ। ब्याजदर घट्दै जानु, कर्जाको माग अपेक्षित रूपमा विस्तार हुन नसक्नु तथा बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले ब्याज आम्दानीमा दबाब सिर्जना गरेको बैंकको विश्लेषण छ।

बैंकले शुल्क तथा कमिसन आम्दानीमा भने सुधार गरेको छ। खुद शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्षको ३ अर्ब २२ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। परम्परागत ब्याज आम्दानीमा दबाब रहेका बेला गैरब्याज आम्दानी बढाउने बैंकहरूको रणनीतिअनुसार ग्लोबल आइएमईले पनि सेवा विस्तार र डिजिटल माध्यमबाट आम्दानी बढाउने प्रयास गरेको देखिन्छ।

बैंकको कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँबाट बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चिति रहेको छ।

ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा पनि सुधार भएको छ। बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

यससँगै बैंकको लाभांश क्षमता १०.६४ प्रतिशतबाट बढेर १२.०२ प्रतिशत पुगेको छ। यसले आगामी दिनमा शेयरधनीलाई दिने प्रतिफल क्षमतामा सुधार आएको संकेत गरेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ३४ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार १५३ रुपैयाँ ३६ पैसा, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.६७ गुणा र तरलता अनुपात ४४.४८ प्रतिशत रहेको छ।

 

बैंकले आफ्नो व्यवस्थापकीय विश्लेषणमा विश्व अर्थतन्त्रमा देखिएको भूराजनीतिक तनाव, शक्तिशाली राष्ट्रबीचको व्यापार ध्रुवीकरण र नेपालको आर्थिक सुस्तताले बैंकिङ क्षेत्रमा चुनौती सिर्जना गरेको उल्लेख गरेको छ।

बैंकको कर्जा प्रवाह ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहक निक्षेप ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँबाट बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

बैंकका अनुसार भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिले केही समय व्यावसायिक वातावरण प्रभावित भयो। व्यवसायीहरूको मनोबल कमजोर हुँदा ब्याजदर न्यून अवस्थामा पुगे पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेन।

कर्जा विस्तार कमजोर हुँदा बैंकको ब्याज आम्दानीमा दबाब परेको र निष्क्रिय कर्जा असुलीमा समेत असर परेको बैंकले जनाएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भए पनि गुणस्तरीय कर्जा विस्तार गर्न नसक्नु अधिकांश बैंकको साझा चुनौती बन्दै आएको छ।

तर फागुन २०८२ मा सम्पन्न निर्वाचनपछि स्पष्ट बहुमतसहित नयाँ सरकार गठन भएको र आर्थिक गतिविधि चलायमान बनाउने सरकारी पहलले आगामी दिनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा बैंकले गरेको छ।

ग्लोबल आइएमई बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ। नाफामा सुधार भए पनि खराब कर्जा बढ्नु बैंकका लागि चुनौतीको विषय बनेको छ।

बैंकले नेपाल राष्ट्र बैंकको एनएफआरएस–९ अपेक्षित कर्जा नोक्सानीसम्बन्धी निर्देशिका तथा नियामकीय प्रावधानअनुसार कर्जा ह्रास व्यवस्था कायम गरेको जनाएको छ। बैंकले एनएफआरएस–९ अनुसार गणना गरिएको अपेक्षित कर्जा नोक्सानी र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार आवश्यक व्यवस्थामध्ये जुन बढी हुन्छ, सोही आधारमा कर्जा नोक्सानी व्यवस्था गरेको जनाएको छ।

बैंकले कर्जा गुणस्तर सुधार गर्न निष्क्रिय कर्जा असुली, कर्जा अनुगमन र जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने रणनीति लिएको छ।

‘डिजिटल फर्स्ट बैंक’ बन्ने रणनीति

ग्लोबल आइएमई बैंकले आगामी पाँच वर्षमा आफूलाई ‘डिजिटल फर्स्ट बैंक’ बनाउने लक्ष्य अघि सारेको छ। बैंकले सञ्चालक समितिबाट स्वीकृत दीर्घकालीन रणनीति ‘जीआईबीएल मिसन २०३०’ अन्तर्गत डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको जनाएको छ।

बैंकले डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवा तथा आन्तरिक प्रक्रियालाई स्वचालित बनाउने योजना बनाएको छ। यसबाट ग्राहकलाई छिटो र सहज सेवा उपलब्ध गराउने, सञ्चालन खर्च घटाउने, उत्पादकत्व बढाउने र जोखिम व्यवस्थापन सुधार गर्ने लक्ष्य बैंकको छ।

बैंकले सूचना प्रविधि पूर्वाधारमा लगानी बढाउँदै साइबर सुरक्षा, तथ्यांक सुरक्षा र डिजिटल बैंकिङ सेवाको विस्तारमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ।

बैंकले आगामी अवधिमा उत्पादनशील क्षेत्र, साना तथा मझौला व्यवसाय (एसएमई) र अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा विस्तार गर्ने जनाएको छ।

बैंकको मुख्य लक्ष्य अतिरिक्त तरलतालाई गुणस्तरीय लगानीमा परिचालन गर्दै कर्जा–निक्षेप अनुपात सुधार गर्नु रहेको छ। बैंकले सम्पत्ति तथा दायित्व व्यवस्थापन, जोखिमअनुसार कर्जा पोर्टफोलियो विविधीकरण र खर्च नियन्त्रणलाई पनि प्राथमिकता दिएको छ।

देशभर ३४२ शाखा, ३६८ एटीएम

ग्लोबल आइएमई बैंकले आफ्नो सेवा सञ्जाललाई देशकै ठूलोमध्ये एक बनाएको छ। बैंकका अनुसार हाल देशभर ३४२ वटा शाखा, ६९ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र, १४७ शाखारहित बैंकिङ सेवा केन्द्र र ३६८ वटा एटीएम सञ्चालनमा छन्।

बैंकले नेपालको ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ। साथै विदेशमा अस्ट्रेलियाको सिड्नी, भारतको नयाँ दिल्ली र बेलायतको ह्याम्पशायरमा प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको छ।

बैंकले आगामी दिनमा खराब कर्जा व्यवस्थापन, अतिरिक्त तरलताको परिचालन, सञ्चालन खर्च नियन्त्रण र प्रविधि जोखिम व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ।

आर्थिक सुस्तता, राजनीतिक अनिश्चितता, कमजोर कर्जा माग, विश्वव्यापी आर्थिक अवस्था र साइबर सुरक्षाको जोखिमले बैंकिङ क्षेत्र प्रभावित हुन सक्ने बैंकको विश्लेषण छ।

यी चुनौती समाधान गर्न बैंकले कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, निष्क्रिय कर्जा असुलीलाई प्राथमिकता, जोखिम व्यवस्थापन प्रणाली सुदृढीकरण, नयाँ डिजिटल सेवा विस्तार र कर्मचारी क्षमता विकासमा जोड दिएको जनाएको छ।

समग्रमा ग्लोबल आइएमई बैंकको पछिल्लो वित्तीय विवरणले कठिन आर्थिक वातावरणका बीच नाफा वृद्धि गर्न सफल भएको देखाउँछ। कर्जा नोक्सानी व्यवस्था घट्नु र वितरणयोग्य नाफा बढ्नु सकारात्मक पक्ष भए पनि बढ्दो निष्क्रिय कर्जा, घट्दो ब्याज आम्दानी र कमजोर कर्जा माग बैंकका लागि आगामी चुनौती रहने देखिन्छ।

आर्थिक गतिविधि विस्तार र लगानी वातावरण सुधार हुन सकेमा बैंकले आफ्नो ठूलो सञ्जाल र डिजिटल रणनीतिमार्फत थप व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेको छ।