भ्रामक समाचारबाट ‘Fed Up’ प्रभु बैंक, आधिकारिक धारणा सार्वजनिक

Headlines बैंक/वित्त

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस विज्ञप्तिमार्फत बैंकले पर्याप्त तथ्य, प्रमाण वा आधिकारिक पुष्टि बिना प्रकाशित भएका सामग्रीहरू आधारहीन, अतिरञ्जित र भ्रामक रहेको दाबी गर्दै त्यस्ता समाचारले बैंकको संस्थागत प्रतिष्ठा, पदाधिकारीहरूको मान–मर्यादा, सार्वजनिक विश्वास तथा नियामक निकायप्रति अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गरेको छ।

बैंकले कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामी सूचना प्रकाशनजस्ता कार्यहरू बैंकिङ व्यवसायका नियमित र कानुनसम्मत संस्थागत अभ्यास भएको स्पष्ट पारेको छ। यस्ता नियमित प्रशासनिक तथा व्यावसायिक प्रक्रियालाई कुनै आधार वा आधिकारिक पुष्टि बिना नकारात्मक रूपमा प्रस्तुत गर्नु पत्रकारिताको व्यावसायिक आचारसंहिता विपरीत हुने बैंकको भनाइ छ।

हाल केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको स्वीकार गर्दै बैंकले सम्बन्धित मुद्दाहरू अदालतमा विचाराधीन रहेकाले नियामकीय प्रावधानअनुसार आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक निगरानी तथा सुधारात्मक उपायहरू कार्यान्वयन गरिरहेको जनाएको छ। साथै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणालीसहित अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

बैंकले सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णयहरू प्रचलित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन तथा नियामकीय मापदण्डअनुसार हुने गरेको र भविष्यमा पनि त्यसैअनुसार सञ्चालन हुने जनाएको छ।

प्रेस विज्ञप्तिमा सञ्चारमाध्यमलाई कुनै पनि समाचार प्रकाशन वा प्रसारणअघि तथ्यको परीक्षण, सम्बन्धित पक्षबाट आवश्यक पुष्टि तथा विश्वसनीय स्रोतको आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ। अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा प्रकाशित सामग्रीले वित्तीय प्रणालीप्रतिको सार्वजनिक विश्वासमा नकारात्मक असर पर्न सक्ने बैंकको भनाइ छ।

प्रभु बैंकले निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी, ग्राहक तथा लगानीकर्तालाई बैंकबाट आधिकारिक रूपमा जारी गरिएका सूचना र विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरेको छ।

साथै, संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सत्य, निष्पक्ष, सन्तुलित र तथ्यमा आधारित पत्रकारिताको मूल्य–मान्यता तथा नैतिक जिम्मेवारी पालना गर्न सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेको छ।