काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समग्र राजनीतिक अवस्था चिन्ताजनक बन्दै गएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा जनताले दिएको जनादेशअनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए। सरकारका गतिविधिले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै उनले देशको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको टिप्पणी गरे।
‘देशको अवस्था ठीक छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ र जनताले जुन अभिमत व्यक्त गरे, सरकारका क्रियाकलापले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ उनले भने, ‘दिनप्रतिदिन देशको राजनीतिक अवस्था थप जटिल र असहज बन्दै जाने हो कि भन्ने चिन्ता बढ्दै गएको छ।’

सरकारका पछिल्ला गतिविधिले जनविश्वास जोगाउन नसकेको उल्लेख गर्दै प्रचण्डले राजनीतिक दलबीच मतभिन्नता हुनु लोकतान्त्रिक अभ्यास भए पनि जनताको निराशा र अपेक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताए। उनले सत्तापक्षलाई जनभावनाप्रति संवेदनशील भएर अघि बढ्न आग्रह गरे।
सम्बोधनका क्रममा उनले सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका क्रममा उत्पन्न तनावका बीच प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गर्दै उनले यस्तो संवेदनशील घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले आवश्यक चासो नदेखाएको भन्दै सदनमै आपत्ति जनाए।

