खुम्बु क्षेत्रमा बिना अनुमति प्रवेश गरे पाँच हजार जरिवाना

विविध

२०७७ जेष्ठ ०८  : काठमाडौँ – अनुमति विना गाउँपालिका भित्र प्रवेश गर्नेलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले जरिवाना गर्ने भएको छ ।

लुकिछिपी गाउँपालिका प्रवेश गरे पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । लुकिछिपि गाउँपालिका भित्र प्रवेश गर्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई नाम गोप्य राखी पुरस्कृतसमेत गरिने गाउँपालिकाले जनाएको छ ।

विशेष अनुमतिबिना सबैलाई गाउँपालिका प्रवेश निषेध गरिएकोले नियमको उल्लघंन गर्नेलाई जरिवाना गरिने सूचना गाउँपालिकाले जारी गरेको छ । जरिवानासहित जहाँबाट आएको त्यहीँ फर्काइदिने निर्णयसमेत गाउँपालिकाले गरेको हो ।

कोरोना संक्रमण भयावह रुपमा फैलँदै गएको अवस्थामा संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले बताइन् ।