बजेटका ८ उद्योग सुधार कार्यक्रम कार्यान्वयनमा उद्योग मन्त्रालय सक्रिय, अर्थमन्त्रीको सहयोगको प्रतिबद्धता

Headlines आर्थिक

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका उद्योग क्षेत्रका सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सक्रिय रूपमा लागेको जनाएको छ।

बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयनसम्बन्धी छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मन्त्रालयको क्षेत्राधिकारभित्र रहेका नीतिगत तथा कानुनी सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने बताउनुभयो।

मन्त्री यादवले बजेटमा उद्योग मन्त्रालयसँग सम्बन्धित आठ वटा सुधार कार्यक्रम समावेश रहेको उल्लेख गर्दै केही कार्यक्रमको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको र बाँकी कार्यक्रम पनि चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिनुभयो।

उहाँले बजेटमा घोषणा गरिएका सुधार कार्यक्रम सफल बनाउन अर्थ मन्त्रालयसँग प्राविधिक सहयोग र प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै मन्त्रालयको जिम्मेवारीभित्र पर्ने काम समयमै सम्पन्न गर्न दुवै मन्त्रालयबीच निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग मन्त्रालयअन्तर्गतका नीतिगत तथा कानुनी सुधारका कामलाई तदारुकताका साथ अघि बढाउन आग्रह गर्दै आवश्यक विज्ञ, स्रोत–साधन तथा प्राविधिक सहयोग उपलब्ध गराउन अर्थ मन्त्रालय पूर्ण रूपमा तयार रहेको बताउनुभयो।

चालु आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनी ऐन संशोधन, दामासाहीसम्बन्धी ऐन परिमार्जन, उधारो असुली ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन निर्माणलगायत आठ वटा प्रमुख कानुनी तथा नीतिगत सुधार कार्यक्रम समावेश छन्।

अर्थ मन्त्रालयले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन नियमित अनुगमन तथा सम्बन्धित मन्त्रालयसँग प्रगति समीक्षा गर्ने कार्यतालिका समेत तय गरेको जनाएको छ।