‘Make 7UP Yours?’ होइन, ‘Stop 7UP’—वरुण बेभरेजको 7UP उत्पादन र बिक्रीमा DFTQCको रोक

Sticky News बैंक/वित्त

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC) ले वरुण बेभरेज (नेपाल) प्रालिले उत्पादन गरेको 7UP ब्रान्डको एक ब्याचमा बाह्य पदार्थ (Foreign Material) भेटिएको उजुरीपछि उक्त ब्याचको उत्पादन तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको छ।

विभागले  जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्राप्त उजुरीका आधारमा २०८३ साउन ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोलीले पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा उत्पादन मिति १६ अप्रिल २०२६ र ब्याच नम्बर B००6 को 7UP Sweetened Carbonated Water सम्बन्धी उजुरीको छानबिन गर्दै सोही ब्याचका दुईवटा कन्ट्रोल नमुना संकलन गरिएको विभागले जनाएको छ। साथै उद्योगमा २५० मिलिलिटरका 7UP काँचका बोतलमा उत्पादन भइरहेको पाइएको उल्लेख गरिएको छ।

विभागका अनुसार उद्योगमा बोतल धुने ७ चरणको वासिङ प्रणाली, बोतल भर्नेअघि ४ चरणको लाइट चेकिङ प्रणाली, भरेपछि मेटल डिटेक्टर र फाइनल लाइट इन्स्पेक्सन प्रणाली सञ्चालनमा रहेको पाइएको छ। अनुगमनका क्रममा उद्योगको प्रशोधन तथा भण्डारण क्षेत्रमा बाह्य पदार्थ भएको ७UP का बोतल भने फेला नपरेको विभागले जनाएको छ।

यद्यपि, विभागले सम्बन्धित ब्याच नम्बर B००6 को नमुना संकलन गरी परीक्षणका लागि पठाएको छ। परीक्षणको अन्तिम नतिजा नआएसम्म 7UP को उत्पादन रोक्न तथा उक्त ब्याचको बिक्री–वितरण तत्काल रोक्का गरी त्यसको विवरण विभागमा लिखित रूपमा उपलब्ध गराउन उद्योगलाई निर्देशन दिएको जनाएको छ।