Private Sector Credit Hits Rs 58.38 Trillion, Growth Slows to 6.2%

Headlines बैंक/वित्त

काठमाडौं चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा ३ खर्ब ४० अर्ब ५७ करोड रुपैयाँले वृद्धि भई कुल ५८ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशत अर्थात् ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँले बढेको थियो। यसले चालु आर्थिक वर्षमा कर्जा विस्तारको गति केही सुस्त भएको देखाउँछ। यद्यपि, वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले विस्तार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ गएको कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा सबैभन्दा बढी रहेको छ। जेठ मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रमा ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा ३७.४ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रको हिस्सा क्रमशः ६३ प्रतिशत र ३७ प्रतिशत रहेको थियो।

क्षेत्रगत रूपमा हेर्दा वाणिज्य बैंकबाट प्रवाह भएको कर्जा ६.३ प्रतिशत, विकास बैंकबाट ५.६ प्रतिशत र वित्त कम्पनीबाट ३.९ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति धितो कर्जाको हिस्सा १४.७ प्रतिशत रहेको छ। यसमध्ये कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको कर्जाको हिस्सा २०८३ जेठ मसान्तमा क्रमशः १४.७ प्रतिशत र घरजग्गा धितो कर्जाको हिस्सा ६३.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रको हिस्सा क्रमशः १४.५ प्रतिशत र ६५ प्रतिशत थियो।

क्षेत्रगत कर्जा विस्तारमा निर्माण क्षेत्रमा सबैभन्दा बढी वृद्धि देखिएको छ। समीक्षा अवधिमा निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशतले बढेको छ। त्यस्तै, उपभोग्य क्षेत्रतर्फको कर्जा १३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १२.५ प्रतिशत, औद्योगिक उत्पादनतर्फ ६.८ प्रतिशत र सेवा उद्योगतर्फ ४ प्रतिशतले बढेको छ।

यस अवधिमा वित्त, बीमा तथा घरजग्गा क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले मात्र बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा भने २.४ प्रतिशतले घटेको छ।

कर्जाको प्रकृतिअनुसार ट्रस्ट रिसिट (आयात) कर्जा ३६.७ प्रतिशतले बढेको छ। त्यस्तै मार्जिन प्रकृतिको कर्जा १५.८ प्रतिशत, हायर पर्चेज कर्जा १०.३ प्रतिशत र रियल स्टेट कर्जा ६.३ प्रतिशतले वृद्धि भएको छ।

यस्तै माग तथा अन्य चालु पुँजी कर्जा ५.८ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ। क्रेडिट कार्ड कर्जा ०.३ प्रतिशत र अधिविकर्ष कर्जा ०.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

बैंकिङ प्रणालीमा उच्च तरलता रहे पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत गतिमा बढ्न नसकेको देखिएको छ। लगानी वातावरण कमजोर, व्यवसायिक मागमा कमी र ऋण असुलीमा देखिएको दबाबले कर्जा विस्तार प्रभावित भएको विश्लेषण गरिएको छ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप ८० खर्ब १२ अर्ब पुग्यो, एक वर्षमा १५ प्रतिशत वृद्धि

काठमाडौंबैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा १०.३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८० खर्ब १२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ प्रतिशत अर्थात् ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा भने २०८३ जेठ मसान्तसम्म कुल निक्षेप १५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संरचनामा मुद्दती निक्षेपको हिस्सा घटेको छ भने बचत तथा अन्य निक्षेपको हिस्सा बढेको छ। २०८३ जेठ मसान्तसम्म कुल निक्षेपमा चल्ती खाताको हिस्सा ६.९ प्रतिशत, बचत खाताको हिस्सा ४६.६ प्रतिशत, मुद्दती निक्षेपको हिस्सा ३७.३ प्रतिशत र अन्य निक्षेपको हिस्सा ९.२ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको जेठ मसान्तमा चल्ती, बचत, मुद्दती र अन्य निक्षेपको हिस्सा क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत, ५०.२ प्रतिशत र ७.९ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार निक्षेप वृद्धिमा संस्थागत निक्षेपको योगदान भने घटेको छ। २०८३ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ३५.५ प्रतिशत थियो।

कुल निक्षेपमध्ये २०८३ जेठ मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ६.९ प्रतिशत, ४६.६ प्रतिशत र ३७.३ प्रतिशत रहेको छ।

बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढे पनि सोही अनुपातमा कर्जा विस्तार हुन नसक्दा अधिक तरलताको अवस्था देखिएको छ। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापनका उपकरण प्रयोग गर्दै आएको छ।

उच्च निक्षेप वृद्धिका कारण बैंकहरूको स्रोत परिचालन क्षमता बढेको भए पनि निजी क्षेत्रको कमजोर कर्जा माग र लगानी वातावरणमा आएको सुस्तताले निक्षेपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न चुनौती देखिएको छ।