काठमाडौँ । करिब एक दशकदेखि विवाद र प्रश्नको घेरामा रहेको अर्बौं रुपैयाँको वैदेशिक लगानी प्रकरण फेरि एकपटक सतहमा आएको छ। यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का गर्दै अनुसन्धानलाई थप कडा बनाएको छ।
विभागले अध्यागमन विभागलाई औपचारिक पत्राचार गरी सुमार्गीको पासपोर्ट रोक्का राख्न निर्देशन दिएको हो। विभागका उच्च स्रोतका अनुसार अनुसन्धानको संवेदनशील चरणमा रहेका बेला सुमार्गी विदेश जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।
सुमार्गीमाथि कर उन्मुक्ति (ट्याक्स हेभेन) मुलुकहरूबाट शंकास्पद ढंगले ठूलो परिमाणमा रकम नेपाल भित्र्याएको आरोप लाग्दै आएको छ। विशेषगरी मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्रिएको वैदेशिक लगानीको वास्तविक स्रोतबारे लामो समयदेखि विवाद र कानुनी बहस चल्दै आएको थियो।

यसअघि उक्त रकममाथि कारबाही प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतबाट अन्तरिम आदेश प्राप्त भएको थियो। तर, उक्त आदेशले अन्ततः निरन्तरता नपाएपछि अनुसन्धानको बाटो पुनः खुलेको थियो।
स्रोतका अनुसार करिब १० वर्षअघि दर्ता भएको उजुरीलाई आधार बनाएर विभागले पछिल्ला महिनाहरूमा अनुसन्धानलाई पुनः तीव्र बनाएको छ। राहदानी रोक्काको निर्णयलाई अनुसन्धानको नयाँ र महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
