काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा सदूपयोग गर्नुपर्ने बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनिर उभिने छ, यो प्रश्न सबैका सामु छ । किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठूलो महत्त्व हुन्छ । तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ । आन्दोलनलाई सङ्गठनमा रूपान्तरित गर्ने र रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट सङ्गठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु ।’

ज्ञवालीले रास्वपाले छोटो समयमै असाधारण जनसमर्थन हासिल गरेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूले पनि त्यसबाट सिक्नुपर्ने बताए । उनले युवाहरूलाई आकर्षित गर्ने र राजनीतिक सहभागितामा जोड्ने रास्वपाको प्रयास प्रशंसनीय रहेको धारणा राखे ।
उनले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता तथा उत्तरदायी राज्यको अवधारणालाई आत्मसात गर्दै रास्वपा अघि बढ्नुपर्ने सुझाव दिए। प्राप्त जनादेशको सही सदुपयोग भएमा लोकतन्त्र बलियो बन्ने र गलत प्रयोग भए जोखिम उत्पन्न हुनसक्ने चेतावनी पनि उनले दिए ।
उनले भने, ‘महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्यहरू गरी खाने जनताका लागि पनि राज्य चाहिन्छ । राज्य केवल हुनेखानेका लागि मात्रै होइन भन्ने एउटा उत्तरदायी राज्यको अवधारणा बोकेको त्यो बाटो तय गरोस्, मेरो धेरै–धेरै शुभकामना छ ।’
ज्ञवालीले वर्तमान भू–राजनीतिक परिस्थितिमा नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानीपूर्वक कदम चाल्नुपर्ने बताए । भारत र चीनसँगको सम्बन्ध तथा क्षेत्रीय जटिलताबीच सन्तुलित कूटनीति आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘अहिलेको भू–राजनीतिक जटिलताबीच नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानी अपनाउनुपर्छ । भारत र चीनजस्ता छिमेकीसँगको सम्बन्धमा सन्तुलित कूटनीति कायम राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्न आवश्यक छ ।’
उनले सरकारका केही प्रारम्भिक निर्णय र गतिविधिबाट प्रश्नहरू उठेको उल्लेख गर्दै लोकतान्त्रिक संस्था, संसद, न्यायालय र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। लोकतन्त्रको आधारभूत मूल्य कमजोर हुने कुनैपनि गतिविधि जनमतका लागि चुनौती बन्न सक्ने उनको भनाइ थियो ।
काम गर्ने उत्साह आवश्यक भए पनि त्यसमा सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि आवश्यक हुने’ उदाहरण प्रस्तुत गरे। उनले रास्वपाले लोकतन्त्र, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा पुष्टि गर्नुपर्नेमा जोड दिए । महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै ज्ञवालीले यसले पार्टीका लागि मात्र नभई देश र जनताका लागि पनि भरोसा जगाउने विश्वास व्यक्त गरे ।
